• २३ वैशाख २०८१, आइतबार

आज लोकतन्त्र दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

blog

काठमाडौँ, वैशाख ११ गते । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी नेपाल भर मनाइँदै छ । आजको दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२-६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनः स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।