• १४ पुस २०८१, आइतबार

गाउँ फर्केर गाईपालन

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, वैशाख ६ गते । औसत मानिस सहरबाट गाउँ पस्दैनन् । सहरबाट गाउँ पसेर कृषिकर्म गर्नेप्रति समाजको दृष्टिकोण सकारात्मक हुँदैन तर लगनशील भएर काम गर्ने हो भने पैसा कमाउन सहर पस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ मोरङको रतुवामाई–५, परेवाखोपीका लीला श्रेष्ठ । 

श्रेष्ठले २०७० देखि २०७५ सम्म उर्लाबारीको स्कुलडाँडामा होटल चलाउनुभयो । होटल गज्जब चलेको थियो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारीको स्कुलडाँडामा पाँच वर्ष होटल चलाउँदा श्रेष्ठको आम्दानी खातामा मात्र देखियो, हातमा पैसा छैन । त्यति हुँदा पनि श्रेष्ठ दम्पतीको होटल चलाउने धित मरेको थिएन । चलिरहेको होटल बिक्री गरेर उहाँ गाउँ फर्किनुभयो र घरमै गाईपालन सुरु गर्नुभयो । २०७५ साल मङ्सिरमा पाँचवटा गाईबाट व्यवसाय सुरु गर्नुभएका श्रेष्ठ अहिले नगरको नमुना गाई फार्म सञ्चालक हुनुभएको छ । श्रेष्ठको खेमु गाई फार्ममा यतिबेला १५ वटा गाई छन् । जसमध्ये १२ वटा लैना छन् । 

दैनिक एक सय लिटर दूध बिक्री गरिरहनुभएका श्रेष्ठ भन्नुहुन्छ, “सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसी गरे ।” कसैले सानोतिनो व्यापार गर्न सुझाए तर श्रेष्ठ दम्पती जे सोचेर गाउँ फर्किनुभएको थियो, त्यही काममा दत्तचित्त भएर लाग्नुभयो । अहिले उहाँले सबै खर्च खटाएर महिनाको ६० हजार रुपियाँ बचत गर्नुहुन्छ ।

चार लाख रुपियाँमा सुरु गरेको फार्ममा ४० लाख लगानी पुगिसक्यो । उहाँले बैङ्कबाट पनि सहुलियतमा ऋण लिनुभएको छ । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाईपालनका लागि दुई लाख ४० हजार अनुदान दियो । गाईपालनका लागि आवश्यक उपकरणमा नगरपालिका र वडा कार्यालयले पनि सहयोग गरिरहेको छ । 

श्रेष्ठले आफ्नो तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । एक जना सहयोगी, श्रीमती र बुबाआमाको भरपूर साथ र सहयोग पाइरहनुभएका श्रेष्ठ दूधमा आत्मनिर्भर बनाउन सकिने बताउनुहुन्छ ।