• २२ वैशाख २०८१, शनिबार

निषेध गरिएका कारण म बैठकमा गइनँ : डा. रावल

blog

नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावल । फाइल तस्विर

काठमाडौं, वैशाख १० गते ।  नेकपा (एमाले) का नेता डा. भीम रावलले भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूलाई निषेध गरिएको गुनासो गर्नुभएको छ । 

गोरखापत्र अनलाइनसँग समसामयिक राजनीति सम्बन्धमा विषयमा संक्षिप्त कुरा गर्दै उहाँले सो गुनासो गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालको संविधान बनेपछि देश जुन प्रकारको स्थायित्वमा  जाला भन्ने  संविधानमा जुन परिकल्पना गरिएको छ, त्यो अनुसार होला भनेर हामीले सोचेका  थियौं । त्यसको विपरीत जुन घटनाक्रमहरु घट्यो, त्यसको निरन्तरता नै छ । त्यसमा कुनै सुधार भएको देखिँदैन ।”

उहाँले कम्युनिष्ट पार्टीका प्रधान नेताबिच गठबन्धन बनेको तर यो वाम गठबन्धन नभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “सत्ताको, पदको लागि अमुक राजनीतिक दलले अमुक राजनीतिक दलसँग जुनसुकै बेला जस्तोसुकै परिस्थितिमा गठजोड गर्ने प्रवृत्ति छ । अहिलेको गठबन्धन कम्युनिष्ट पार्टीका प्रधान नेताविचको गठबन्धन हो, तर यो वाम गठबन्धन होइन ।"

उदाहरणका लागि उपेन्द्रजी, रविजीको पार्टी समावेश छ । यो कसरी जाला भन्ने सवाल छ, जसरी विगतका गठबन्धन वा समिकरण छ, खाली नयाँ नाम दिने गरिएको छ । तर जेसुकै भन्नुस्, यो गठजोड नै हो । राजनीतिक दलको स्वार्थ अलिकति तलमाथि पर्ने बित्तिकै यो समिकरण निरन्तर जान नसक्ने अवस्था आउने उहाँ आंकलन गर्नुहुन्छ । 

एमालेको पछिल्लो महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा निषेध गरिएकोले आफू उपस्थित हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो आफ्नो कुरा गर्दा म पनि महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ । गत महाधिवेशनमा अध्यक्ष पदमा मैले प्रतिस्पर्धा गरेको थिएँ । त्यहाँ सहभागी हुनका लागि मेरो त परिचयपत्र नै निलम्बन गराएको रहेछ । त्यस्तो निषेध गरिएको हुनाले म गइनँ ।” 

यता, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले यस विषयमा बैठकमा कसैलाई निषेध गर्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिनुभयो । गौतमले भन्नुभयो, “उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो पनि हामीलाई जानकारी भएन । निषेध गर्नुपर्ने कुनै कारण नै छैन । कसैलाई निषेध गर्न जरुरी नै छैन ।”

उहाँले बैठकमा वर्तमान सत्ता समिकरण र यसको निरन्तरता र सफलतामा विशेष जोड दिइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा वर्तमान सत्ता समिकरण यसको निरन्तरता र सफलतामा विशेष जोड दिने । नेकपा एमालेको कारणबाट यसमा कुनै पनि किसिमको व्यवधान हुन नदिने । अब सत्ता समिकरणमा सामेल भएका दलहरुबाट प्रस्तुत भएका न्युनतम साझा कार्यक्रमलाई टेकेर सरकारको नीति तथा बजेट लिएर आउने । बजेट जनमुखी, जनमैत्री बनाउने, विकास निर्माणको कामहरुमा उच्च प्राथमिकता दिने कुरा भएको छ।”

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।