• २२ वैशाख २०८१, शनिबार

बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति

blog

काठमाडौँ, वैशाख १० गते । गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख १ गतेदेखि आइतवारसम्म डढेलोसहितको आगलागीका कारण ११ करोड ५५ लाख १० हजार ५०० रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । 

सबैभन्दा बढी  आगलागीबाट करिब ११ करोड २५ लाख २० हजार बराबरको क्षति भएको छ । डढेलोबाट २९ लाख ९० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान छ । 

पछिल्लो २४ घण्टामा देशभर ७८ स्थानमा आगलागीसहित डढेलोका घटना भएका छन् ।

सुख्खायाम बढेसँगै डढेलोसहितका आगलागीका घटनाहरु बढ्न लागेको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म २७९ वटा  डढेलोसहित आगलागीका घटना भएका छन् । जसमध्ये आगलागीका घटना २०८ वटा छ । डढेलो ७१ वटा जङ्गलमा लागेको छ । आगलागीबाट सो अवधिमा पाँच जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । जसमध्ये आगलागीबाट १७ जना घाइते भएका छन् भने डढेलोबाट चार जना घाइते भएको तथ्याङ्क छ । 

डढेलोसहितको आगलागीका कारण ४८६ परिवार विस्थापित भएका छन् । आगलागीबाट १३७ पशुचौपायाको मृत्यु हुँदा डढेलोका कारण ५३ पशुचौपाया मरेका छन् । आगलागीका कारण अछाम, रुपन्देही र कपिलवस्तु जिल्ला बढी प्रभावित भएको छ ।

रुपन्देही र कपिलबस्तुमा १३ वटा घटना भएका छन् भने अछाममा दुई जनाको मृत्यु भएको छ । आगलागीका कारण प्यूठान सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ नौ वटा घटना भएका छन् । 

२४ घण्टामा ७८ घटना 

पछिल्लो २४ घण्टामा देशभर ७८ स्थानमा आगलागीसहित डढेलोका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार २४ घण्टामा देशभर आगलागीसहित डढेलोका घटना ७८ वटा भएका छन् । 

जसमध्ये आगलागीका ३४ वटा घटना भएका छन् भने डढेलोका ४४ वटा घटना भएका छन् । एक करोड ६४ लाख ५८ हजार ५०० रुपियाँ बराबरको क्षति भएको तथ्याङ्क छ । आगलागीका कारण नौ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ भने एक करोड ५५ लाख २८ हजार ५०० रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । 

जोखिम कायमै  

डढेलोविद् सुन्दर शर्माले नेपालमा अझै डढेलोको जोखिम कायमै रहेकाले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अझै जढेलोको जोखिम कायमै छ, पानी परेको छैन । सबैतिर सुख्खा छ । त्यसैले सम्भावित डढेलोबाट जोगिनुपर्छ ।’’

नेपालमा प्रत्येक  तीन वर्षको अन्तरमा डढेलोसहित आगलागीका घटनाले ठूलो रुप लिएको तथ्याङ्क भएकाले यस वर्ष पनि विपदको जोखिम रहेको उहाँको भनाइ छ । जेठसम्म पानी पर्न सकेन भने घटना अझ बढ्न सक्ने उहाँको भनाइ छ । 

नेपालमा प्रत्येक तीन वर्षको अन्त्यमा आगलागीले ठूलो रुप लिएको देखिन्छ, सन् २०२१ मा ठूलो रुप लिएको थियो, यसवर्ष पनि जोखिम उच्च छ ।

डढेलोविद् शर्माले भन्नुभयो, “नेपालमा प्रत्येक तीन वर्षको अन्त्यमा आगलागीले ठूलो रुप लिएको देखिन्छ, सन् २०२१ मा ठूलो रुप लिएको थियो, यसवर्ष पनि जोखिम उच्च छ ।’’

वितेको दुई वर्षमा आगलागीका घटनाहरु धेरै नभएको जसकारण पातपतिङ्गर थुप्रिएर रहँदा ढडेलोको जोखिम अत्यधिक हुने शर्मा बनाउनुहुन्छ । शर्माका अनुसार सल्लो भएको क्षेत्रमा अझ बढी डढेलोका घटना बढेको देखिएको छ । सल्लोको वनमा डढेलो लाग्दा रुख नै जल्छ जसलाई छत्र डढेलो भनिने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।