• १२ साउन २०८१, शनिबार

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी ।

काठमाडौँ, वैशाख ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासङ्घको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो। 

चौथो अङ्गको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताउनुभयो ।

‘‘पत्रकार महासङ्घको स्थापनाका सन्दर्भमा महासङ्घ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुङ्गो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’’, उहाँले भन्नुभयो, ‘‘मलाई लाग्छ यो विषय सिङ्गो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउनेक्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुरा बाहिर ल्याउन सक्नुपर्ने बताउनुभयो ।

‘‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई सङ्गठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासङ्घले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’’


आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । पेसा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेसा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उहाँको भनाइ छ । 

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व सङ्घीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट  पत्रकार सङ्गीता चेपाङलाई पुरस्कृत गरिएको छ । 

फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभयो। 

कार्यक्रममा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासङ्घको स्थापना सम्बन्धी विवादलाई टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।