• २१ वैशाख २०८१, शुक्रबार

त्रिविका उपकुलपतिको सोचपत्र, प्रदेश विश्वविद्यालय खोल्ने योजना

blog

काठमाडौँ, वैशाख ९ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बरालले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन त्रिविकै प्रदेश विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सार्नुभएको छ । 

प्रदेशमा स्थापना भएका विश्वविद्यालयले सम्बन्धित क्षेत्रमा रहेका त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तर मापन गर्ने, शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा सघाउने र उत्कृष्ट क्याम्पसहरूलाई उत्कृष्टताको उपाधि प्रदान गर्नेसम्मको काम गर्ने योजना उहाँको छ । 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. बरालले तयार पारेको विश्वविद्यालय सञ्चालन र व्यवस्थापनसम्बन्धी चारवर्षे सोचपत्रमा त्रिविको हाल रहेको भीमकाय संरचनालाई व्यवस्थित गर्न प्रदेश विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेको उल्लेख छ । साथै पोखराको पृथ्वीनारायण क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसलाई उपाधि दिने संस्थाका रूपमा विकास गरिने पनि सोचपत्रमा उल्लेख छ । 

पछिल्लो तथ्याङ्क अनुसार त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक, ५२८ वटा सम्बन्धन प्राप्त सामुदायिक र ५५४ वटा निजी क्याम्पस सञ्चालनमा छन् । यी सबै क्याम्पसमा गरेर चार लाख ५४ हजार विद्यार्थी अध्ययन गर्छन् । जुन मुलुकको विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका कुल विद्यार्थी सङ्ख्याको ७८.३६ प्रतिशत हो ।

विश्वविद्यालयले दिने सेवालाई विकेन्द्रीकरण गर्न केन्द्रबाहेक क्षेत्रीय स्तरमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई सुविधा सम्पन्न बनाउने योजना पनि त्रिविले बनाएको छ । विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गत सञ्चालनमा रहेका केन्द्रीय विभागलाई गाभेर महाविद्यालय बनाइने र त्यसको नेतृत्व सम्बन्धित सङ्कायका डिनले गर्ने व्यवस्था गरिने उल्लेख छ । महाविद्यालयमा पढाउन प्राध्यापकको न्यूनतम योग्यता विद्यावारिधि बनाइने योजना पनि उपकुलपति बरालको छ । 

त्यस्तै यस्ता विभागलाई समायोजना गर्दा समायोजनामा पर्न नसक्ने प्राध्यापकलाई एकमुष्ट रकम (गोल्डेन ह्यान्डसेक) दिएर बिदा गर्ने रणनीति छ । यसका लागि आवश्यक रकम सरकारले अनुदानको रूपमा उपलब्ध गराउनुपर्ने बरालको भनाइ छ । 

विश्वविद्यालयका एकै प्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका र भौतिक निकटता रहेको क्याम्पसको शैक्षिक कार्यक्रमलाई गाभ्ने, राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम र विदेशी विश्वविद्यालयका शैक्षिक वर्षसँग मेल खाने गरी विश्वविद्यालयको शैक्षिक पात्रो बनाउने तथा आवश्यकता अनुसार ऐन तथा नियम संशोधन गरेर भए पनि सम्बन्धित निकायका प्रमुखलाई कडाइसाथ जिम्मेवारी पालना गर्न लगाइने योजना पनि बरालले सार्वजनिक गर्नुभएको छ । 

सम्बन्धन प्राप्त निजी क्याम्पसले विद्यार्थीबाट लिने शुल्क तथा अन्य सेवा शुल्कको कडा अनुगमन गरिने, यस्ता क्याम्पसले नयाँ शैक्षिक कार्यक्रम थप गर्न चाहेमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरिनेलगायत विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारितासँग सम्बन्धित विषय सोचपत्रमा समावेश छ । 

विश्वविद्यालयको सम्पत्तिको उपयोग, आर्जन र आत्मनिर्भरता, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको सुदृढीकरण, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने तथा विश्वविद्यालयमा पारदर्शिता र जवाफदेहितासँग सम्बन्धित विषय पनि सोचपत्रमा समावेश छ । बराल गत फागुनमा चार वर्षका लागि उपकुलपतिमा नियुक्त हुनुभएको हो । सोचपत्र अनुसारको योजना र काम २०८४ माघ मसान्तसम्ममा सम्पन्न गरिसक्ने उपकुलपति बरालले बताउनुभयो ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।