• २१ वैशाख २०८१, शुक्रबार

‘राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ’

blog

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ, वैशाख ८ गते । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । 

नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगतले पनि प्रयत्न गर्नुपर्ने बताउनुभयो । 

उहाँले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गर्नुभयो । “सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने बताउनुभयो । 

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उहाँले भू-राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । पेसागत धर्म निर्वाह गरेर काम गर्न पत्रकारलाई सुझाव दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक विषयवस्तुलाई जनतासमक्ष ल्याउन आग्रह गर्नुभयो ।

उहाँले समाज रुपान्तरणको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिनुभयो । समाजका अध्यक्ष प्रदीपराज वन्तले गोरखाको विकास निर्माणमा समाजले समन्वय र सहजीकरण गर्ने बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गर्नुभएको थियो । रासस