• २१ वैशाख २०८१, शुक्रबार

नेपाली मौलिक संस्कृतिको प्रवर्धन

blog

विश्वको जुनसुकै कुनामा बसेका भए पनि नेपाली आखिर नेपाली नै हुन् । तन जता पुगे पनि मन चाहिँ नेपाली नै हुन्छ । नेपालको जनसङ्ख्या झन्डै तीन करोड पुगेको तथ्याङ्क छ । त्यसमध्ये करिब एक करोड त विदेशमा रहेको अनुमान छ । धेरै जसो खाडी र मलेसियामा रोजगारीका लागि गएका छन् । युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता विकसित मुलुकमा अध्ययन र अन्य प्रयोजनका लागि पनि धेरै नेपाली पुगेका छन् । देशको परिस्थिति वा अन्य कारणले बिदेसिए पनि नेपालीको मन चाहिँ नेपालभित्रै घुमिरहेको पाइन्छ । 

नेपाली मनको प्रत्यक्ष प्रभाव नेपालीका चाड वा पर्व विशेषमा अनुभूति गर्न सकिन्छ । दसैँ, तिहार होस् वा अन्य चाडपर्वमा विदेशमा रहेका नेपालीले पनि धूमधामसँग कार्यक्रम गर्ने गरेका छन् । कला, धर्म र संस्कृतिमा नेपाल धेरै धनी छ । विदेशमा बस्ने नेपालीले नेपालको यो पहिचान र मौलिकतालाई विदेशमा समेत फैलाउने अभियानलाई गति दिनु आवश्यक छ । नेपाल र नेपालीको मौलिकता र पहिचानकै कारण संसारले हामीलाई चिन्ने हो । 

यसै क्रममा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले पनि बेला मौकामा मौलिक संस्कृतिको पहिचान झल्काउने गरेका छन् । सनातन समाज नामक एउटा संस्था विधिवत् रूपमै स्थापना भई नेपाल र नेपाली कला, संस्कृति, वेशभूषा, परिकारलगायत मौलिक स्वरूपलाई विदेशमा परिचित गराउने अभियानमा सक्रिय छ । यस्तै अभियान संसारका अन्य मुलुकमा बसोबास गर्ने नेपालीले पनि गर्नु जरुरी छ ।

अस्टे«लियामा सनातन समाज अग्रसर छ । नेपाली पहिचान स्थापित गराउन उसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कति नेपाली बस्छन् त अस्ट्रेलियामा ? यसको यकिन जवाफ पाउन भने कठिन छ । कसैले ८० हजार नेपालीको बसोबास भएको बताउँछन्, कतिपयले एक लाख वा डेढ अनि कसैको अनुमान दुई लाखसम्म रहेको छ । सन् २०१७ मा अस्ट्रेलियन सरकारको जनगणना हेर्ने हो भने ७३ हजार ७४० जनाको बसोबास भएको देखिन्छ । यो सरकारको आधिकारिक तथ्याङ्क हो । त्यसपछि पनि बर्सेनि नेपाली विद्यार्थी वा पेसाकर्मीको सङ्ख्या बढिरहेको छ । 

सन् २०२० मा जारी सरकारी तथ्याङ्क भन्छ करिब ६३ हजार नेपाली स्थायी बसोबास गर्छन् । अर्थात् पिआर र सिटिजनसिप भएकाहरू । यस्तै विद्यार्थीको सङ्ख्या पनि करिब त्यसै हाराहारी रहेको देखिन्छ । झन्डै ६४ हजार नेपाली विद्यार्थी अध्ययनका क्रममा अस्ट्रेलियामा रहेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म करिब डेढ लाख नेपाली अस्ट्रेलियामा बस्छन् । त्यसमध्ये करिब १० हजार नेपाली त क्यानबेरामा मात्रै बसोबास गर्ने अनुमान छ । यिनै तथ्याङ्कलाई आधार मान्ने हो भने अस्ट्रेलिया बस्ने नेपाली उल्लेख्य रहेको देखिन्छ । यतिको सङ्ख्यामा बस्ने नेपालीको उपस्थितिले अस्ट्रेलियामा नेपालीपन झल्कने कार्यक्रमको आयोजना हुनु स्वाभाविक मान्नु पर्छ । जहाँ भए पनि आफ्नोपन झल्काउने र सशक्त उपस्थिति दर्शाउने नेपाली मौलिक चरित्र पनि हो । उक्त अभियानको अगुवाइ गर्ने मध्येमा पर्छ सनातन समाज अस्ट्रेलिया ।

भर्खरै मात्र अर्थात्, नेपाली नयाँ वर्षको अवसरमा समाजले विशेष कार्यक्रम आयोजना गरेको थियो । अस्ट्रेलियाको राजधानी सहर क्यानबेराको लेनोक्स गार्डेन्समा यही वैशाख १ गते नेपाली नयाँ वर्षमा आतसबाजी गरियो, त्यो पनि भव्य रूपमा । करिब पाँच हजार नेपाली उपस्थित सो कार्यक्रममा अस्ट्रेलिया सरकारको महत्वपूर्ण पदाधिकारी नै आमन्त्रित हुनुहुन्थ्यो । जसमा एसिटी विधान सभाका सदस्यसमेत रहनु भएका मुख्यमन्त्री एन्ड्रयु बार प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्तै, केन्द्रीय सरकारको सत्तारूढ दलका मुख्य सचेतक डेभिड स्मिथलगायत धेरै उच्च पदस्थ अधिकारी कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । समाजले आयोजना गर्ने विशेष कार्यक्रममा गैरआवासीय नेपाली सङ्गठनको समेत सहभागिता हुन थालेको छ । नयाँ वर्षकै कार्यक्रममा समेत यस्तो उत्साहबद्र्धक सहभागिता रहेको थियो । 

कतिपय सन्दर्भमा हामीलाई भारतीय जस्तो ठान्ने प्रवृत्ति पनि रहेको छ अस्ट्रेलियामा । कद, काँट र बोलीचाली अनि चालचलनको समानताका कारण पनि होला । नेपाल अलग भाषा, संस्कृति र क्यालेन्डर रहेको मुलुक हो भन्ने सन्देश दिनका लागि पनि सो कार्यक्रम आयोजना गरिएको हो । नेपालको अलग क्यालेन्डर छ त्यो पनि अरूभन्दा भिन्न र ५७ वर्ष अघिबाट सुरु हुन्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गर्ने गरिएको हो । 

यस्ता कार्यक्रमले विश्व समुदायमा नेपालको अलग पहिचान र छवि स्थापित भएको छ । नेपाली खाना, वेशभूषा, पहिरन अनि कला संस्कृतिको प्रचारप्रसार गर्ने अभिप्रायले यस्तो कार्यक्रमको आयोजना गर्ने गरिएको छ । नेपालको मोमो होस् वा चटामरी वा गुन्द्रुकबारे संसारलाई चिनाउन पनि यो कार्यक्रम फलदायी हुने गरेको छ । यसबाट नेपाली रेस्टुराँ र गार्मेन्ट व्यवसायसमेत फस्टाउने अवस्था निर्माण भएको छ । नेपाली खाना र पहिरनबारे स्थानीयले जान्ने र अनुभव गर्ने अवसर पाएका छन् ।

अस्ट्रेलिया सरकारको कानुनी प्रक्रियाबमोजिम चार वर्षअघि अर्थात् सन् २०२० मा सनातन समाज अस्ट्रेलियाको स्थापना गरिएको हो । उक्त संस्थाले भारतीय वा अरू कसैसँग मिलेर संयुक्त रूपका कुनै कार्यक्रम आयोजना गर्ने गरेको छैन । समाजले नेपाली मौलिकता झल्कने कार्यक्रम एकल रूपमै गर्दै आएको छ । गत वर्ष पनि नयाँ वर्ष भव्य रूपमा मनाइएको थियो । यस पटक अझै विस्तार भएको छ । हाम्रा कार्यक्रमबारे प्रचारप्रसार गर्नका लागि भने यदाकदा भारतीय भारतीय एफएम वा फेसबुक अकाउन्टको प्रयोग भने गर्ने गरिएको छ । खास गरी सनातन धर्म, कर्म, भाषा र संस्कृति मिल्दाजुल्दो भएकाले यसरी जोडिने गरिएको हो । 

नेपालको मौलिक पहिचान झल्काउने खालको कार्यक्रम नै संस्थाको मूल उद्देश्य रहने गरेको छ । मुनाफारहित संस्थाका रूपमा क्रियाशील सनातन समाजले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीबिच सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । समाजले दसैँ, तिहार, तिज, श्रीकृष्णजन्माष्टमी, रक्षाबन्धन जस्ता चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ । यसबाट नेपाल र नेपालीको अलग पहिचान कायम राख्दै आपसी भाइचाराका लागि समेत बल पुग्ने गरेको छ । समाजले क्यानबेरामा हिन्दुहरूलाई लक्षित गर्दै आरध्यदेव पशुपतिनाथको मन्दिर बनाउने अभियानलाई अगाडि बढाइरहेको छ । यो मौलिक शैलीको मन्दिर निर्माणको परिकल्पनाले बाँकी विश्वलाई नेपालबारे चासो राख्न बाध्य पार्ने हाम्रो विश्वास पनि हो । साथै, यसले विश्वभरिका पर्यटकलाई नेपाल र नेपालीबारे बुझ्नसमेत क्यानबेरातर्फ आकर्षित गर्ने विश्वास गरिएको छ । यसबारे मुख्यमन्त्री एन्ड्रयुसँग छलफल भइसकेको छ । प्रमुख अतिथिका रूपमा सहभागी हुँदा उहाँलाई नेपाली टोपी र पशुपतिनाथको रेप्लिकाबाट सम्मान गरिएको थियो ।

विदेशमा बस्ने नेपालीको विभिन्न समाजले यस्ता काम गर्नु राम्रो हो । यस्ता अभियानमा सरकारी स्तरबाट पनि सहयोगी भूमिका निर्वाह भए थप उपलब्धिमूलक हुन्थ्यो । क्यानबेरास्थित नेपाली दूतावासले खुलेर सहयोग गर्ने वा यस्ता सङ्घ संस्थासँग साझेदारी गर्ने परिस्थिति निर्माण भए अझै ऊर्जा थपिने थियो । 

Author

सन्तोष मल्ल