• ७ कात्तिक २०८२, शुक्रबार

एक वर्षमा ३८ किलोमिटर सडक कालोपत्रे

blog

कालोपत्रे भएको मदन भण्डारी राजमार्ग । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक ७ गते । गुल्मीमा एक वर्षमा ३८ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८१–८२ मा सडक पूर्वाधार विकास कार्यालय गुल्मीले कुल ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो । त्यस्तै १६.५६ किलोमिटर सडक ग्राभेल  र ५.३ किलोमिटर सडक ढलान भएको कार्यालयले जनाएको छ ।

गत वर्ष १३.३२ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति गुल्मीको वार्षिक समिक्षा प्रगति प्रतिवेदनका अनुसार सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालय अर्घाखाँची मार्फत गुल्मीमा ८.३ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ किलोमिटर सडक चौडा गर्ने काम भएको छ । कार्यालयले १६ वटा कल्भर्ट र अन्य संरचना निर्माण गरेको जनाएको छ ।

यस क्रममा १४.५९३ घनमिटर ग्याभिङ र मेसिनरी वाल निर्माण भएको जिल्ला समन्वय समिति गुल्मीको सूचना अधिकारी सृजना मिश्रले जानकारी दिनुभयो । सडक डिभिजन पाल्पा, तानसेनले गुल्मीमा ७.४७९ किलोमिटर सडक कालोपत्रे र ७.७७३ किलोमिटर सडक ढलान सडक गरेको जनाएको छ ।

कार्यालयले दुई वटा पुल निर्माण सम्पन्न गरेको मिश्रले बताउनुभयो । त्यस्तै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले ०.५ किलोमिटर सडक कालोपत्रे र चार वटा पुल निर्माण गरेको छ । सहरी विकास तथा भवन कार्यालय पाल्पाले ९.४५ किलोमिटर कालोपत्रे सडक, १.६२३ किलोमिटर ढलान सडक र ६५७ मिटर कच्ची सडक निर्माण गरेको छ ।