• २ माघ २०८१, बुधबार

नेपाललाई छ विकेटले पराजित गर्दै युएई एसिसी प्रिमियर कपको फाइनलमा

blog

युएईसँग पराजित भएपछि नेपाली टिम । तस्बिरः क्यान

काठमाडौँ, वैशाख ७ गते । नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । 

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको शुक्रबारको खेलमा जितका लागि नेपालले प्रस्तुत गरेको एक सय २० रनको लक्ष्य युएईले १७ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । 

युएईका लागि अलिसान शराफूले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५५ रन बनाए ।

विष्णु सुकुमरनले २८, सइद हैदरले १४, मुहम्मद वासिमले ११, आसिफ खानले १० रनको योगदान दिए । नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक÷एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ रन मात्र बनाउन सक्यो । 

पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रूपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । 

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुल्सन झाले २० रन र करण केसीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनाश बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो । 

युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।