• २० वैशाख २०८१, बिहिबार

गुल्मीमा विद्यार्थीको दृष्टि परीक्षण अभियान

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ७ गते । गुल्मीमा विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने भएको छ । जिल्ला समन्वय समिति र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाको संयुक्त आयोजनामा तम्घासमा भएको एक कार्यक्रममा विद्यालय तहका विद्यार्थीको दृष्टि परीक्षण अभियान-२०८१ घोषणा गरिएको हो ।

नेपाल नेत्र ज्योति सङ्घ गुल्मी शाखाका सभापति अखिलेश्वर प्रसाद पाण्डेले जनचेतनामूलक कार्यक्रम र रोग लागेकाहरूलाई उपचार भएसम्म कुनै पनि विधि अपनाई दृष्टिविहीन हुनबाट बचाउने उद्देश्यले विद्यालय तहका विद्यार्थीहरूको दृष्टि परीक्षण गर्न लागिएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा भएको त्यस कार्यक्रममा विद्यालय तहमा भर्ना भएका सबै विद्यार्थीहरूको दृष्टि परीक्षण गरिने निर्णय गरिएको भएको छ ।

आँखामा समस्या भएका विद्यार्थीहरूलाई आवश्यक उपचारसँगै जिल्लास्तरीय, पालिकास्तरीय, विद्यालयस्तरीय समन्वय बनाउने र अभियान सञ्चालन गरिनेछ । अभियानका क्रममा प्रत्येक विद्यालयका एक र एक जना शिक्षकलाई पालिकास्तरमा दृष्टि परीक्षण तालिम, तथ्याङ्क प्रतिवेदन तथा जनशक्ति परिचालन गर्ने, यसका लागि प्राविधिक सहयोग र तालिम नेपाल नेत्र ज्योति सङ्घबाट उपलब्ध गराइने भएको छ ।

त्यस अवसरमा विद्यालयका प्रत्येक कक्षा शिक्षकहरूलाई विद्यालयको तालिम प्राप्त शिक्षकले प्रशिक्षित गर्ने, दृष्टि परीक्षण एप्सको प्रयोग गरी तथ्याङ्क राख्ने, विद्यालयले पालिकामा प्रतिवेदन पठाउने, पालिकाहरूले जिल्लास्तरीय संयन्त्रमा तथ्याङ्क पठाउने, विद्यालयको जनशक्ति परिचालन पालिकाको शिक्षा शाखाले गर्ने निर्णय गरिएको छ ।

दृष्टि समस्या पत्ता लागेका विद्यार्थीलाई नजिकको आँखा उपचार केन्द्रमा रेफर गर्ने र उपचार गर्नुपर्नेलाई आवश्यकताका आधारमा पालिकाले सहयोग गर्ने, जिल्लास्तरीय संयन्त्र र पालिकास्तरीय संयन्त्रले आवश्यक सहजीकरण, समन्वय र अनुगमन गर्ने, जेठको दोस्रो हप्तासम्म परीक्षण गर्ने, पालिकाहरूले आगामी वर्षदेखि नयाँ भर्ना हुने विद्यार्थीको अनिवार्य दृष्टि परीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने  र जिल्ला समन्वय समितिले मूल्याङ्कन पद्धति बनाई सर्वोकृष्ट कार्य सम्पादन गर्ने व्यक्ति र संस्थालाई पुरस्कृत गर्ने निर्णय भएको छ ।