• १५ असार २०८२, आइतबार

अलपत्र बसपार्कमा रोपाइँ !

blog

राष्ट्रिय धान दिवसको अवसरमा पाटन बसपार्क परिसरमा स्थानीय महिलाहरू धान रोप्दै ।

केशवराज भट्ट

वासुलिङ्ग (बैतडी), असार १५ गते । पाटन बजारस्थित बसपार्कको निर्माण एक दशकसम्म पनि सम्पन्न नभएपछि असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीयले हलगोरु प्रयोग गरी रोपाइँ गरेका छन् ।

वि.सं. २०७१।७२ मा सुरु गरिएको पाटन बसपार्कको निर्माणकार्य हालसम्म अधुरै रहँदा विरोधस्वरुप स्थानीयले प्रतीकात्मक रूपमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टका अनुसार पटक–पटक अनुरोध गर्दा पनि बसपार्कको निर्माण कार्य अगाडि नबढेकाले बाध्य भई शान्तिपूर्ण विरोधको माध्यमबाट दबाब दिन रोपाइँ गरिएको हो ।

स्थानीय व्यापारी कृष्णसिंह भाटका अनुसार सवारीसाधनको चापलाई ध्यानमा राखी सुरु गरिएको बसपार्क निर्माणकार्य सम्पन्न नहुँदा पाटनवासीलाई दैनिक रुपमा समस्या व्यहोर्नुपरेको छ । निर्माण नहुँदा बजार क्षेत्रमै सवारी पार्किङ हुन थालेको छ, जसले थप अव्यवस्था सिर्जना गरेको भाटले बताउनुभयो ।

पाटन नयाँ सहर आयोजना अन्तर्गत आठवटा बस र चारवटा जीप पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माण थालिएको थियो । तर निर्माण सुरु भएको एक दशक पुगिसक्दासमेत काम सम्पन्न नहुनु चिन्ताको विषय भएको स्थानीयको भनाइ छ ।

सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गतको १० औं नमुना सहरका रूपमा पाटनमा बसपार्क निर्माण कार्य थालेको भए पनि विभिन्न कारणले काम रोकिँदा विकास कार्यमा अवरोध आएको स्थानीयवासीको गुनासो छ ।

स्थानीय नागरिक तथा व्यवसायीहरूले निर्माण कार्य तत्काल अघि बढाई निर्धारित समयमा सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।