• २० वैशाख २०८१, बिहिबार

गाउँपालिकाले गर्‍यो बिस किमी सडक कालोपत्रे

blog

तनहुँ समाचारदाता

तनहुँ (बन्दीपुर), वैशाख ७ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । गाउँपालिकाले एक वर्षकै अवधिमा करिब २० किलोमिटर कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोटिएको छ  भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ  ।

पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्रे निर्माणलाई प्राथमिकतामा राखेको र झन्डै २० किलोमिटर कालोपत्रे पूरा हुन लागेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।” गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै बन्दीपुर गाउँपालिकाको रूप फेरिन थालेको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गर्ने काम तीव्र रूपमा भइरहेकाले हिलाम्मे र धुलाम्मे हुने गाउँपालिकाका सबै वडामा हाल धमाधम सडक कालोपत्रे र कैयौँ मिटर नाली निर्माण कार्य भइरहेको छ । निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सडक कालोपत्रे गर्ने र नाला पक्की गर्ने काम धमाधम भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ । अध्यक्ष थापाले भन्नुभयो, “जनताको चाहना, आवश्यकताका आधारमा  मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ ।” अध्यक्ष थापाले बन्दीपुर बजारमा केन्द्रित रहेको पर्यटनलाई गाउँ गाउँसम्म विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको बताउनुभयो । 

गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेको गाउँपालिकाले जनाएको छ । प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार सबै वडामा कालोपत्रेले छोएको छ । २, ४ र ५ वडा कार्यालयसम्म आगामी वर्षसम्म कालोपत्र पुर्‍याउने लक्ष्य राखिएको छ ।

केही सडक स्तरोन्नति भइरहेको छ । बन्दीपुर गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान गर्न प्राथमिकता दिइएको छ । स्थानीयले वर्षौंदेखिको कच्ची सडकको सकसपूर्ण यात्रा भुल्न सकेका छैनन् । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सडक कच्ची हुँदा सानो पानी परे गाडी फसेर हैरानी, यात्राको भर नै नहुने भएकाले कालोपत्रेलाई प्राथमिकता दिएका छौँ ।”