• १ जेठ २०८२, बिहिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ १ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

फूलजोर–त्रिभुवनगर सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय रामप्रताप पण्डितको मृत्यु भएको हो। पण्डितको बिहीबार बिहान एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बुधबार राति ९ बजेतिर भएको सवारी दुर्घटनामा अर्का एक पैदलयात्री, मोटरसाइकल चालक र मोटरसाइकल पछाडि सवार व्यक्ति घाइते भएका छन् । दुर्घटनामा पैदलयात्री ब्रह्मपुरी २ कै ५६ वर्षीया झब्सी सहनी, मोटरसाइकल चालक भारतको सोनवर्षाका २२ वर्षीय वीरजन पटेल र पछाडि सवार सोनवर्षाकै ५४ वर्षीय हजारीप्रसाद रौनियार घाइते भएका छन् । 

घाइतेमध्ये मोटरसाइकल चालक पटेल र रौनियारको अवस्था चिन्ताजनक रहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुुभयो । पटेल र रौनियारको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । 

सामान्य घाइते पैदलयात्री झब्सी सहनी भने प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किसकेको डिएसपी राईले बताउनुभयो । उहाँका अनुसार चालकले मदिरा सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो ।