• १ जेठ २०८२, बिहिबार

सुनसरीबाट एक सय ८० जना हज यात्रामा जाने

blog

हज यात्रा । फाइल तस्बिर ।

जयकृष्ण यादव

इनरुवा, जेठ १ गते । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि सुनसरीबाट एक सय ८० जना धार्मिक श्रद्धालु साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् । हज समितिको समन्वयमा आवश्यक तयारी पुरा भई यात्रुहरू अगामी जेष्ठ ३ गते शनिबारदेखि पवित्र भूमि साउदीको मक्का मदिनातर्फ प्रस्थान गर्ने भएका छन् । 

सुनसरीका हाज यात्रीहरु विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने जनाएको छ । अगामी जेष्ठ ३ गते शनिबार पहिलो चरणमा ५५ जना हज यात्री, एक जना एम्बेस्सीका प्रतिनिधि, २ जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् ।  

यसैगरी जेष्ठ ४ गते आइतबार एक सय १८ जना हज यात्री, एकजना एम्बेस्सीका प्रतिनिधि र एक जना हजसमितिका सदस्य प्रतिनिधि काठमाडौंबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । त्यस्तै, जेष्ठ ५ गते थप ५ जना र जेष्ठ ७ गते बुधबार बिहान थप २ हजको लागि साउदी अरेबिया प्रस्थान गर्ने कार्यतालिका रहेको जनाएको छ  । 

गत वर्ष आवेदन दिएर पनि जान नपाएका र नयाँ आवेदक छनौटमा परेर सुनसरी जिल्लाबाट हज गर्न जानका लागि १ सय ८० जना छनौटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरू नेपालमै सबैभन्दा बढी हुने गर्छन् । गत वर्ष पहिलो जिल्ला बनेको सुनसरी यद्यपि यस वर्ष दोस्रो स्थानमा रहेका छन् । 

देशभरिबाट दुई हजार बढी आवेदन परेको थियो । देशभरबाट यस १ हजार १ सय ७१ जना हज गर्न जाने भएका छन् । देसैभरिका हजयात्री ११ चरणमा मई १७ देखि २२ मई तारिखसम्म मक्काका लागि जाने भएका छन् । हजयात्री काठमाडौँबाट सिँधै साउदीको जेद्दा पुग्ने छ । उनीहरू जुन २० देखि २५ जुन तारिखसम्ममा स्वदेश फर्किने छन् । प्रति हज यात्रीले ३ लाख ७० हजार रुपियाँ तिरेर साउदी जाने गरेका छन् । 

हज इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये एक महत्त्वपूर्ण स्तम्भ हो । आर्थिक, शारीरिक तथा मानसिक रूपमा सक्षम प्रत्येक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एकपटक हज यात्रा गर्नु धार्मिक कर्तव्य मानिन्छ । हजमा सहभागिता जनाउन विश्वभरिबाट लाखौं श्रद्धालु प्रत्येक वर्ष साउदी अरेबियाको मक्का पुग्ने गर्दछन् । 

सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले हज यात्रुहरूको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्त्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्त्वपूर्ण हुने बताइन्छ । हज इस्लामिक पात्रो अनुसार धु अल हिज्जा महिनामा सम्पन्न हुने गर्दछ । यो अवसरले विश्वभरका मुस्लिम धर्मावलम्बीलाई एउटै सूत्रमा बाँध्ने अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ ।