• १९ वैशाख २०८१, बुधबार

जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली

blog

झापाको गौरादहमा कार्यकर्तामाझ अध्यक्ष केपी शर्मा ओली ।

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताउनु भएको छ । 

उहाँले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताउनुभएको हो । बिहीबार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गर्नुभयो । 

विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उहाँले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताउनुभयो । मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उहाँले बताउनुभयो । “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उहाँले भन्नुभयो । एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गर्नुभएको उहाँले बताउनुभयो । 

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र छन् । स्थानीयले विकास योजनाको विषयमा जिज्ञासा राखेका थिए ।

उपनिर्वाचनमा लाग्न आग्रह

इलाममा हुन लागेको उपनिर्वाचनमा सूक्ष्म तवरले एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिनुभयो । इलाम क्षेत्र नं. २ को निर्वाचन परिचालन समितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका स्थानीय अगुवा नेतालाई सो निर्देशन दिनुभयो । 

एमाले उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । नेम्वाङका छोरा सुहाङलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ । स्व. नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउन लाग्न उहाँले निर्देशन दिनुभयो ।