• १२ साउन २०८१, शनिबार

लुम्बिनीमा बिना विभागीय मन्त्री सातजना थपिए, आजै शपथ

blog

दिवाकर पोख्रेल

देउखुरी, वैशाख ६ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले थप ७ जना बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। 

मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो।

नियुक्त हुने मन्त्रीमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भुमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नाउपाका धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) बाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री नियुक्त हुनुभएको छ।

उहाँहरूले आजै विना विभागीय मन्त्रीका रूपमा शपथ लिने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ। उहाँहरूको बिहीबार साँझ ५ बजे शपथ ग्रहणको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले एक/एक मन्त्रालय भागबन्डामा परेको छ।

एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री महराले एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई मन्त्रीमा नियुक्त गरेसँगै आज मात्रै शपथ ग्रहण गर्ने मन्त्रीको सङ्ख्या ७ पुगेको छ। समाजवादीको लगातार दबाबपछि मुख्यमन्त्री महराले सांसद अधिकारीलाई मन्त्री नियुक्त गर्नुभएको हो। यस अघि मुख्यमन्त्री महराले एमालेका ५ र एक स्वतन्त्र सांसदलाई मन्त्री नियुक्त गर्नुभएको थियो।

यता जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने असन्तुष्ट देखिएका छन्। मुख्यमन्त्री महराले यस अघि गरेको सात बुँदे सहमति अनुसार जसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएको पार्टी लुम्बिनी प्रदेश अध्यक्ष असोक यादवले जनाउनुभएको छ। जसपाबाट भण्डारीलाल अहिर यस अघि नै मुख्यमन्त्रीसँग शपथ लिई सक्नु भएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि दुई वटा मन्त्रालय पाउनुपर्ने अडान लिएको छ। यदि दुई वटा मन्त्रालय नपाए मुख्यमन्त्रीले दिएको विश्वासको मतसमेत फिर्ता लिने चेतावनीसमेत दिएको छ।