• १९ वैशाख २०८१, बुधबार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै

blog

दिवाकर पोख्रेल

देउखुरी, वैशाख ६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो ।

यसैबिच लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको भनाइ छ ।  

अब बन्ने लुम्बिनी प्रदेश सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय लिनेगरी सहमति भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

यसैबिच मुख्यमन्त्री महराले आज मन्त्रीहरू नियुक्ति गरेर शपथ ग्रहण गराउने तयारीमा लाग्नुभएको छ । मन्त्रालय बाँडफाँट टुङ्गिएसँगै आज नै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री लाग्नुभएको बताइएको छ ।

लुम्बिनी प्रदेशमा विषयगत समिति बाँडफाँटमा सहमति भएर समितिका नेतृत्व छानेसँगै सरकार विस्तारमा पनि सरकारमा सहभागी दलबिच सहमति जुटेको हो । सत्तापक्ष र विपक्ष दलको बिचमा सभापति बाँडफाँट भएको हो । बुधबार ६ विषयगत समिति र विशेषाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्र उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत रूपमा नेतृत्व छानिएको हो ।