• १९ वैशाख २०८१, बुधबार

युवा पलायन रोक्न उद्योग मैत्री नीतिगत व्यवस्था गर्न जरुरी: सभामुख घिमिरे

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ६ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र स्थानीय स्तरमा रोजगार सिर्जना गर्नका लागि उद्योग तथा कलकारखाना मैत्री नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । आवश्यक ऐन कानुन बनाएर उद्यमीहरूलाई प्रोत्साहन गर्न सकेमा यसले रोजगारीका अवसर सिर्जना गर्ने बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापाको मेचीनगर नगरपालिका वडा नं. १४, दुहागढीस्थित सिङ्गापुर बेभरेज उद्योगको बुधवार बेलुका निरीक्षण गर्दै उहाँले नेपालमा उत्पादन भएका विभिन्न पेय पदार्थ विदेशसम्म गएको पाउँदा खुसी लागेको बताउनुभयो । स्थानीय स्तरमा युवाहरूले खोलेका उद्योगहरूलाई नीति नियम बनाएर सहयोग र प्रोत्साहन गर्नुपर्छ, उहाँले भन्नुभयो ।

स्थानीय उद्यमीहरूका समस्या समाधान गर्न र उनीहरूलाई टिकाउनका लागि स्थानीय सरकार पनि गम्भीर बन्नुपर्नेमा उहाँको जोड थियो । स्थानीय सरकारले पनि आवश्यक नीति बनाएर नयाँ उद्यम गर्नेहरूलाई प्रोत्साहित गर्न सक्नुपर्छ, उहाँको भनाई थियो । नेपालमा नै केही गर्छु भनेर सोच राख्नेहरूलाई गर्ने वातावरण बनाउने जिम्मा सरकारको हाे उहाँले भन्नुभयो ।

सिंगापुर बेभरेजले जिरा, किवी, निम्बू लगायतका फलफूलबाट उत्पादन गरेका १२ प्रकारका पेय पदार्थहरू विदेश पनि निर्यात भइरहेको उद्योगका सञ्चालक आशिस शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमात्र नभएर यहाँ उत्पादित विभिन्न प्रकारका जुसहरू अमेरिका, अस्ट्रेलिया, दुबई र भारत निर्यात भइरहेको जानकारी दिनुभएको थियो ।

यसै गरी सभामुख घिमिरेले झापाको मेचीनगरमा नै रहेको नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको कृषि परियोजनाको पनि निरीक्षण गर्नुभएको छ । मेचीनगर–१४ मा १६ बिगाहा जग्गामा एनएमसी नमुना कृषि परियोजनामा सञ्चालित छ । यहाँ झापाकै ठुलो गाई फार्म रहेको सहकारीका पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।

सभामुख घिमिरेले परियोजना स्थलमा रहेको माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवासहित साइलेज र तरकारी उत्पादनको निरीक्षण गर्दै कृषिलाई निर्वाहमुखी नभएर व्यवसायमुखी बनाउन सहकारीका सदस्यहरूलाई यसरी नै प्रोत्साहित गर्दै जानु पर्नेमा जोड दिनुभयो ।