• १८ वैशाख २०८१, मङ्गलबार

रङ्गशाला निर्माणका लागि महायज्ञ

blog

रङ्गशाला निर्माणका लागि आयोजित कार्यक्रम । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख ४ गते । पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।  

करिब तीन बिघा क्षेत्रफलमा रहेको यस क्षेत्रमा कभर्ड हल, बास्केटबल, टेबल टेनिस, भलिबल, फुटबल मैदानलगायतका खेल खेलाउनेगरी रङ्गशाला निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिनुभयो । 

बकैया गाउँपालिकाभित्रको खेलमैदानमध्येको जुरेली खेल मैदान उत्कृष्ट भएकाले रङ्गशालाका रुपमा विकास गर्न जुरेली खेलमैदानका लागि स्थानीयसँग १५ कठ्ठा क्षेत्रफल जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको उहाँले बताउनुभयो । 

‘बजेट सुनिश्चित्ताका लागि हामीले महायज्ञ लगाएका हौं, सबैले सहयोग गर्नुभयो भने राम्रो रङ्गशाला निर्माण हुनेछ ।’ महायज्ञमा सोमवारसम्म १९ लाख ९६ हजार ५८६ रुपियाँ सङ्कलन भएको छ । महायज्ञको पहिलो दिन ७ लाख ५० हजार २१७, दोस्रो दिन ३ लाख र तेस्रो दिन ७ लाख ७२ हजार ८६५ रुपियाँ सङ्कलन भएको समितिका कोषाध्यक्ष प्रल्हाद गौतमले जानकारी दिनुभयो । 

रङ्गशाला निर्माणका लागि करिब डेढ करोड रुपियाँ उठाउने लक्ष्य राखिएको महायज्ञ सञ्चालकको भनाइ छ । महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गरिरहनुभएको छ । 

दैनिक सयौँको सङ्ख्यामा भक्तजन कथा श्रवण र रङ्गशाला निर्माणका लागि सहयोग उपलब्ध गराउन आइरहनुभएको छ । ३० चैतबाट सुरु भएको महायज्ञ वैशाख ७ गते समापन हुनेछ ।