• १२ मंसिर २०८१, बुधबार

विषादी प्रयोगले मानवीय सङ्कट

blog

काठमाडौँ, वैशाख ४ गते । कृषिमा रासायनिक र विषादी प्रयोगले मानवको अस्तित्वमाथि नै सङ्कट आउने अवस्थाको सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाएका छन् । 

खाद्यका लागि कृषि अभियानले ‘जैविक कृषिको मार्गचित्र’ बारे आयोजना गरेको कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताले सो धारणा राखेका छन् । भारतका लेखक एवं वातावरण अभियन्ता भरत मन्सटाले विगत पाँच दशकदेखि सुरु भएको रासायन र विषादीको दौडले मानव अस्तित्व माथि प्रश्न उठेको बताउँदै उहाँले विकसित भएको एकल बाली खेती प्रणालीले निम्ताएको जैविक विविधताको ह्रास माथि चिन्ता व्यक्त गर्नुभयो । अभियन्ता मन्सन्टाले हजारौँ खानयोग्य बाली भएको क्षेत्रमा केही बाली मात्रको प्रोत्साहन र खेतीले खाद्य सङ्कट झनै बढाउँदै लगेको बताउनुभयो ।

उत्पादन बढाउने नाममा हरित क्रान्ति र उत्पादनको आडमा आयातित स्रोतको प्रयोग गरेर बनाइएका रसायनले उत्पादकत्व वृद्धि गर्नुभन्दा माटोमा रहेको जीवन समाप्त पारिरहेको उहाँले बताउनुभयो । हजारौँ वर्ष लगाएर निर्माण भएको माटो मानवीय गतिका कारण तीव्र रूपमा ह्रास हुँदै गएको उहाँले बताउनुभयो । नेपाल पहिला खाद्यान्नमा आत्मनिर्भर थियो, अहिले कृषि उत्पादनको गलत बाटोमा गरिएको लगानीका कारण परनिर्भर हुँदै उल्लेख गर्दै उहाँले नेपालमा रहेको सामूहिकतालाई पर्यावरण र माटो बचाउने दिशामा लैजान आवश्यक रहेको धारणा राख्नुभयो । 

भारतका अर्का कृषि अभियन्ता माल्भिका सोलान्की विश्वको खाद्य उत्पादनमा धेरै हिस्सा महिलाले ओगटेको बताउँदै महिलाहरू नै पर्यावरणीय कृषि उत्पादनमा आउन आवश्यक रहेको बताउनुभयो । आन्ध्र प्रदेशको उदाहरण दिँदै उहाँले पर्यावरणीय कृषिको सिद्धान्तमा आधारित कृषि उत्पादन प्रणालीहरू भारतमा विकसित हुँदै गइरहेको बताउनुभयो । भारतमा रासायन खेतीको वैकल्पिक उत्पादन प्रणालीहरू सीमान्तकृत क्षेत्रबाट विकसित हुँदै गहिरहेको बताउनुभयो । 

महिलाहरू उत्पादन र संरक्षणको केन्द्रमा भएका कारण महिलालाई जैविक उत्पादनमा ल्याउन अत्यावश्यक रहेको बताउँदै उहाँले अहिलेका सङ्कटबाट बच्न महिलालाई परिवर्तनको केन्द्रमा राख्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय बढिरहेको बसाइँसराइ र खेतबारी बाँझिने क्रम पनि विश्व खाद्य सङ्कटका लागि डरलाग्दो विषय भएको धारणा राख्नुभयो । 

नेपालका कृषि अभियन्ता मीना पौडेलले महिलाहरू श्रमिकका रूपमा मात्र रहेको बताउँदै महिलासँग खेतीबारे निर्णयको अधिकार र जमिनको स्वामित्व नभएकाले कृषि उत्पादनको केन्द्रमा महिलाको अवस्था राम्रो नरहेको बताउनुभयो । आप्रवासन र बढिरहेको जमिनको बाँझोपन सम्बन्धमा सूक्ष्म अध्ययन गर्न आवश्यक रहेको बताउँदै उहाँले युवा विदेश गएर उत्पादन घटेको नभई, यहाँ पर्याप्त उत्पादन नभएर युवा विदेश गएका बताउनुभयो । 

अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का कृषिविज्ञ पीताम्वर शर्माले जैविक कृषिलाई जीविकोपार्जनका लागि नभएर जीवनयापनका लागि विकसित गर्न आवश्यक रहेको बताउनुभयो । जैविक कृषिलाई सम्पूर्ण सरकार र सम्पूर्ण समाजका रूपमा बदल्न आवश्यक रहेको बताउँदै उहाँले यो नेपालको समकालीन अवस्थामा असम्भव जस्तो देखिए पनि अत्यावश्यक भएको बताउनुभयो । 

जैविक कृषिको विकास एउटा प्रोजेक्टबाट नहुने भन्दै यसलाई आन्दोलनका रूपमा विकास गर्नुको विकल्प नभएको उहाँले ६० प्रतिशत श्रमशक्तिले राष्ट्रको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत उत्पादन गर्ने नेपालको अनुत्पादक कृषि नै मानिसहरूको पलायन र किसानको पलायनको प्रमुख कारण रहेको बताउनुभयो ।