• १८ वैशाख २०८१, मङ्गलबार

‘आँखा बचाउन दिनको तीन पटक सफा गरौँ’

blog

काठमाडौँ, वैशाख ३ गते । पछिल्लो समय वायु प्रदूषण बढ्दैगएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको छ । 

वायु प्रदूषण बढेसँगै पहिलाको तुलनामा आँखा पोल्नेजस्ता समस्या लिएर अस्पताल पुग्नेगरेका छन् । आँखारोग विशेषज्ञ डा. सबिना श्रेष्ठले वायु प्रदूषण बढेसँगै आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्नेजस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्नेगरेको बताउनुहुन्छ । 

प्रदूषणमा दूषित हावा हुने हुँदा आँखामा सामान्यदेखि जटिल समस्या निम्तिने डा. श्रेष्ठको भनाइ छ । डा. श्रेष्ठ भन्नुहुन्छ, “वायु प्रदूषणमा कार्बन मोनोक्साइड, नाइट्रेस अक्साइड हुने हुँदा आँखामा जटिलदेखि सामान्य समस्या निम्तिने गर्छ ।” प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्ने, आँखाको डिल सुन्निने, आँखा खोल्न नसक्नेजस्ता लक्षण देखिने डा. श्रेष्ठको भनाइ छ ।  

वायु प्रदूषणमा कार्बन मोनोक्साइड, नाइट्रेस अक्साइड हुने हुँदा आँखामा जटिलदेखि सामान्य समस्या निम्तने गर्छ ।

प्रदूषणले आँखा सुख्खा भएर विभिन्न समस्या निम्तने डा. श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म आँखा सुख्खा भएमा आँखाको नानीमा घाउ हुने, मासु पलाउनेजस्ता समस्या निम्तने गर्छ । समयमा उपचार नपाए आँखामा अल्सर हुनेगर्छ ।”

उहाँका अनुसार उडिरहेको धुलो आँखाको परेलीमा जमेर बस्ने र त्यसबाट सङ्क्रमण हुन सक्छ । लामो समयसम्म प्रदूषणमा रहिरहेमा दीर्घकालीन प्रभाव पार्ने र आँखामा घाउ हुने आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु हुने खतरा हुने डा. श्रेष्ठको भनाइ छ । 

यो मौसममा आँखामा एलर्जी हुने गर्छ । उहाँ भन्नुहुन्छ, “वसन्त रीतुमा अन्य समयको तुलनामा आँखामा एलर्जी हुनेगर्छ । वायु प्रदूषणले एलर्जी झन् बढाउने गर्छ ।” दीर्घकालीन वायु प्रदूषण रहिरहने कारणले आँखाको पछिल्लो भाग अर्थात् ‘रेटिना’ बिग्रने जोखिम बढ्ने चिकित्सक बताउँछन् ।  

कसरी बच्ने ?

आँखा पोल्ने, सुनिने, आँसु आउनेजस्ता समस्या देखिएमा दिनमा दुईदेखि तीन पटकसम्म सफा चिसो पानीले आँखा सफा गर्ने, कृत्रिम आँसु प्रयोग गर्ने, आँखा नमिच्न उहाँको सुझाव छ । 

आँखा सफा गर्दा फोहोरमैला, एलर्जी कम्पोनेन्टबाट आँखालाई बचाउन सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “आँखा स्वास्थ्य राख्नुपर्छ नियमित आँखा सफा गर्नुपर्छ । आँखा सफा गर्दा फोहोरमैला, एलर्जी कम्पोनेन्टबाट आँखालाई बचाउन सकिन्छ ।” सङ्क्रमण वा एलर्जी भएमा चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्न उहाँको सुझाव छ । उहाँका अनुसार प्रदूषणबाट आँखा बचाउन घरबाहिर निस्कँदा अनिवार्य चस्मा वा सनग्लासको प्रयोग गर्नुपर्छ । 

आँखामा चस्मा लगाएमा केही हदसम्म प्रदूषणबाट बच्न सकिन्छ । कनट्याक्ट लेन्सको प्रयोगले आँखा थप सुक्खा हुने, घाउ हुनसक्ने जोखिम बढ्ने हुँदा प्रदूषणको बेलामा लेन्सको प्रयोग नगर्न चिकित्सकको सुझाव छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।