• १३ मंसिर २०८१, बिहिबार

राष्ट्रपति पौडेल सोमबार तनहुँ आउनु हुने

blog

अमरराज नहर्की
तनहुँ, वैशाख २ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ आउनुहुने भएको हो ।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नुहुने कार्यक्रम छ । नवनिर्मित भवनको  आइतबार पूजापाठ गरिने र सोमबार राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


यसैबिच भवन स्थान्तरण र उद्घाटन समारोहलाई दृष्टिगत गर्दै म्याग्दे गाउँपालिकाले वैशाख २ र ३ गते सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले एक विज्ञप्ति जारी गरी दुई दिन सार्वजानिक बिदा दिइएको जनाइएको छ ।

विज्ञप्तिमा जिन्सी, विद्युत्तीय सामग्री, विभिन्न श्रेस्ता कागजातहरु, फर्निचरसहित विद्युत्तीय उपकरण नयाँ भवनमा सेटिङ गर्नुपर्ने हुँदा सार्वजनिक बिदा दिनुपर्ने उल्लेख गरिएको छ ।

वैशाख २ र ३ गते गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह गरिने सेवा बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजानिक रहेको गाउँपालिकाले जनाएको छ । भाडाघरमा बस्नुपर्दा साँघुरो र अप्ठ्यारो भएकाले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौँ पटकको गृह जिल्ला भ्रमणका लागि  आउनु लाग्नुभएको छ । यसअघि चैत्र २३ भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ आउनुभएको थियो ।

यस्तै चैत १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो ।