• २० वैशाख २०८१, बिहिबार

बिसुपर्व लाग्यो, भिटौलो सकियो

blog

दार्चुलाको मार्मा क्षेत्रमा मनाइने बिसु जात (पर्व) । तस्बिर : सामाजिक सञ्जाल

दार्चुला समाचारदाता

दार्चुला, वैशाख २ गते । सुदूरपश्चिमका बैतडी र दार्चुलामा मनाइने भिटौलो त्यार (पर्व) सकिएको छ । चैतमा माइती पक्षले विवाहित छोरीचेलीलाई भेट्ने चलन रहेकाले चैत महिनाभरि भेटघाटको चहलपहल हुन्छ । 

माइती पक्षको न्यास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका स्थानीय जितेन्द्र धामीले बताउनुभयो ।

पहिला घरमै पकाएका खानेकुरा लगेर भेटघाट गर्ने चलन रहेकोमा त्यो चलन भने बिस्तारै घट्दै गएको छ । अहिले बजारबाटै पनि सामग्री किनेर लैजाने गरेको पाइन्छ । भिटौला त्यारको चलनले छोरा र छोरीबिचको विभेद अन्त्यका लागिसमेत भूमिका खेलेको लेकम–५ का स्थानीय पल्लावराज जोशीले बताउनुभयो । 

माइती पक्षले छोरीलाई पनि उत्तिकै महत्व दिने गरेको कुरा यो संस्कृतिले सन्देश दिएको उहाँको भनाइ छ । वसन्त ऋतुमा माइती पक्षको सम्झना आउने र यो बेला माइती पक्ष पुगेमा न्यास्रो मेटिने भएकाले परापूर्वकालदेखि यो संस्कृति चल्दै आएको बुढापाका बताउँछन् ।

बिसुपर्वको रौनक

नयाँ वर्ष २०८१ को स्वागत तथा बिसुपर्व मनाउनका लागि गाउँघरमा चहलपहल बढेको छ । बिसुपर्व मनाउनका लागि कामविशेषले गाउँबाट टाढा रहेका वा बिदेसिएकाहरू घर फर्किएका छन् । 

मुख्यतया पढाइ र कामको सिलसिलामा जिल्लाबाहिर रहेका र रोजगारीको सिलसिलामा भारतको विभिन्न सहर गएका घर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस जिल्लाको खलङ्गा, दत्तु र लालीलगायत विभिन्न सीमानाकाबाट दैनिक भारतको विभिन्न सहर गएका मानिस घर फर्किएका छन् । मार्मा क्षेत्रको गुल्जर र नौगाडमा बिसु जात्रा (जात) सुरु भएको छ । 

प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रूपमा बिसुपर्वमा घर पुग्नुपर्ने चलन छ । बिसुपर्वमा राम्रो परिकार, पहिरनका साथै विभिन्न खेल खेलेर रमाइलो गर्ने चलन छ ।

बिसुपर्वमा देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबिच सिस्नु लगाउने चलन छ । खास गरी बिसुपर्व विष पखाल्ने पर्वका रूपमा मनाइन्छ । बिहानै स्नान गरी सिस्नु लगाई विष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामीले बताउनुभयो ।

सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले बिसुपर्वलाई विशेष भेटघाटका रूपमा लिने गरिन्छ, उहाँले भन्नुभयो । नयाँ वर्ष तथा बिसु तिहार नजिकिँदा सीमा नाका र भिडभाड हुने बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो । नयाँ वर्षमा हुन सक्ने सम्भावित चोरी, झैझगडा र दुर्घटना नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको जानकारी उहाँले दिनुभयो ।