• १२ साउन २०८१, शनिबार

यार्चागुम्बा सङ्कलन गर्न अनुमति

blog

यार्चागुम्बा सङ्कलन गरिँदै । फाइल तस्बिर

यदुप्रसाद भट्ट

मनाङ, वैशाख २ गते । वैशाख पहिलो हप्ताबाट मनाङमा यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले विकट पालिका नार्पाभूमिको नार र फुबाहेक अन्य स्थानमा मनाङीलगायत अन्य जिल्लावासीका लागि अनुमति दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्चागुम्बाका लागि उपयुक्त यामका रूपमा लिइन्छ । यार्चागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि मनाङको साबिकको नार र फु गाउँ विकास समितिमा यार्चागुम्बा सङ्कलन रोकिएको थियो । 

जिल्लाभित्र यार्चागुम्बाको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै विगतको जस्तो घटना नहोस् भनी सजगता अपनाइएको जानकारी दिनुभयो । पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसकिने जानकारी गराउँदै उहाँले निषेधको मानसिकता त्यागी जिम्मेवार बन्न आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्चागुम्बा सङ्कलनको व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ । राज्यबाट शुल्क लिने, कर लगाउने भनेको कुरा त अधिकारप्राप्त निकायले गर्नुपर्ने हो तर कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा कुरा उठाउनुहोला । यो जल्दोबल्दो विषय भएकाले अहिलेलाई साबिकमा जे भएको छ, त्यही किसिमले जान उपयुक्त होला भन्ने हाम्रो बुझाइ छ ।”

अघिल्लो हप्ता भएको छलफलमा जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारी सहभागी थिए । संरक्षण समितिका पदाधिकारीहरू सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो । प्रजिअले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन, हाम्रो सुरक्षाकर्मी तपाईंको साथमा हुनुहुन्छ, ती सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” उहाँले अधिकारको उपयोग गर्नमा संरक्षण समितिका पदाधिकारी नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्चागुम्बा सङ्कलनका लागि ३५ हजार रुपियाँ शुल्क तोकिएको बताउनुभयो । उहाँले विगतमा जस्तै नार र फुमा अन्य जिल्लाकालाई यार्चागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी अन्य जिल्लाकालाई यार्चागुम्बा सङ्कलनमा रोक लगाइएको हो । जिल्लामा वैशाख पहिलो हप्ताबाट र नार्पाभूमिमा जेठ दोस्रो हप्ताबाट मात्रै यार्चागुम्बा सङ्कलन सुरु हुने उहाँको भनाइ छ । त्यसै गरी संरक्षणकर्मी तथा नासोँ–८ का वडाध्यक्ष याद घलेले जिल्लाले अनुमति दिइसकेको र छिट्टै समितिको बैठक बसी यार्चागुम्बा सङ्कलन सुरु गरिने बताउनुभयो । उहाँले बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिने तयारी गरिएको बताउनुभयो । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान अनुमति दिइने घलेले बताउनुभयो । 

यार्चागुम्बा सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा र लमजुङका स्थानीय पनि यार्चागुम्बा सङ्कलन गर्न मनाङको लेक पुग्ने गर्छन् । नार घटनापछि एक्यापले मनाङले यार्चागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउन थालेको छ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्चागुम्बा पाइन्छ । मनाङमा यार्चागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्चागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किचो लेक, याक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यार्चागुम्बा बढी पाइने स्थानमा पर्छन् ।

यार्चागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने छ । असारको पहिलो हप्तासम्म यार्चागुम्बा सङ्कलन गर्न सकिने समय हो ।