• २४ वैशाख २०८१, सोमबार

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

blog

त्रिवेणी (रुकुम पश्चिम), वैशाख १ गते । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसिकोट नगरपालिका-१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । 

अन्य समयमा सडकको त्यति धेरै महत्त्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ । सडकको समस्या भएपनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । 

सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ । गाउँमा पहिलो पटक २०६२/६३ सालदेखि लसुन खेती सुरु गर्नुभएका स्थानीय ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताउनुभयो । “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कृषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भन्नुभयो ।

गहुँभन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उहाँ बताउनुहुन । “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक एक लाखदेखि  एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।” गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट एक लाख १० हजार आम्दानी भएको खड्काले बताउनुभयो । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भन्नुभयो, “पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ । धेरै कुरामा सहज भएको छ ।” 

लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उहाँको छ । स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने (गाना) समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनहुन्छ । घर नजिकैको केही जग्गामा गहुँखेती गरे पनि धेरै जग्गामा लसुन खेती गर्नुभएको छ । गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताउनुभयो । वि.स.२०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट हुनहुन्छ ।

“गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँखेतीबाट परिवारको खर्च व्यवस्थापन गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रूपमा सहज भएको छ,” उहाँले भन्नुभयो । “पहिले बजारको समस्या हुँदा व्यावसायिकरुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भएपनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिकरुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ”, खड्काले भन्नुभयो । उहाँले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक ८३ हजार आम्दानी गरेको सुनाउनुभयो । 

खड्काहरूको बसोबास रहेको यो गाउँमा पछिल्लो सयम लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीयसमेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँ पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समय लसुन खेती गर्दै आउनुभएको छ । शिक्षण पेसामा २५ वर्ष खर्चिनुभएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आउनुभएको छ । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो । 

“बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबाट राम्रै आम्दानी हुने विश्वास छ । वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्,” शिक्षक खड्काले भन्नुभयो । प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यवस्थापनको सहजीकरण वडाले गरेको छ । 

लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताउनुभयो । कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ । 

लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास 

वडामा लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृतसमेत गर्दै आएको छ ।

वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडौँसम्म पठाउने गरेको छ । झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखि माथि लसुन खेती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्यबाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पूरै जग्गामा लसुन खेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ । अहिले झ्याङगाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । 

गाउँ नजिकै सडक पुगेपनि किसानको सजहताका लागि भूगोल अध्ययन गरेर गाउँमै सडक सञ्जाल पुर्‍याउने वडाको योजना छ । गाउँमै सडक जोडिएमा भने उत्पादन भएका कृषिजन्य वस्तुलाई बोकेर खोलासम्म पुर्‍याउने समस्या हुने छैन । वडाका किसानलाई व्यावसायिकरुपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिकरुपमा वडालाई सम्पन्न बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । 

त्यसयता वडामा व्यावसायिकरुपमा किसानले लसुन खेती गर्न थालेका छन् । झ्याङ गाउँ रहेको वडाका तीन सय ६० किसानले लसुन खेती गर्ने गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८०/८१ मा वडाले दुई सय ४५ परिवारलाई २० किलोका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो । गत वर्ष सो वडाबाट पाँच सय क्विन्टल लसुन जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो । उक्त लसुनबाट वडामा ५० लाख भित्रिएको छ । लसुन खेतीको सुरुआत भएको झ्याङगाउँमा १० लाख खर्चेर गाउँको बिच भागमा लसुनको प्रतिमा सहितको ‘लसुन उद्यान’ निर्माण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । 

गाउँमा लसुन उत्पादन भएर जिल्लाबाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग बढेको छ । चालू आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ । प्राङ्गारिक मल प्रयोग गरेर अग्र्यानिक उत्पादन गर्ने र वडालाई अग्र्यानिक उत्पादनका रूपमा घोषणा गर्ने वडाको लक्ष्य छ । वडामा लसुन खेतीसँगै सुन्तला खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रूपमा सम्पन्न बनाउन वडामा उत्पादन हुने कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिकीकरणमा जोड दिइएको वडाध्यक्ष खड्काले बताउनुभयो । रासस