• १४ जेठ २०८१, सोमबार

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

blog

भरतपुर, वैशाख १ गते । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो । 

गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । रेग्मी सौराहाको जङ्गल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए । रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताउनुभयो । 

गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चार वटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो । “निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ”, तिवारीले भन्नुभयो, “नयाँ वर्षको दिन दुःखद घटना भयो ।” मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । रासस