• २३ असार २०८१, आइतबार

निर्माणमा ढिलाइ भएको भन्दै दुहबी बजारक्षेत्रमा सडक अवरोध

blog

नवराज कट्टेल

विराटनगर, वैशाख ४ गते । सुनसरीको दुहवी बजारक्षेत्रका स्थानीयले निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक जाम गरेका छन् । सडक निर्माण सम्झौता गरेको साह निर्माण सेवा कम्पनीले काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र हाङका अनुसार विस्तारको कामका लागि भत्काएको सडकमा सवारी गुड्दा धुलो धेरै उड्न थालेपछि स्थानीयले केहीबेर सडक अवरोध गरेका छन् । स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले भत्काएको सडकमा नियमित पानी हाल्ने र निर्माणको कामलाई अगाडि बढाउने सहमति जनाएपछि अवरोध हटेको प्रहरी निरीक्षकले जानकारी दिनुभयो ।

६ लेन सडक आयोजनासँग निर्माण सम्झौता गरेको साह निर्माण सेवाका प्रोपाइटर जयप्रकाश साहले निर्माणका क्रममा रहेको सडकमा धुलो उडेको भन्दै विरोध गरिएको बताउनुभयो । निर्माणका लागि आवश्यक पर्ने सामग्री अभाव भएका कारण पनि कामलाई अगाडि बढाउन असजिलो भएको बताउनुभयो । 

ठेक्का सम्झौता हुँदादेखि अहिले दुई गुणाले वस्तुको मूल्य वृद्धि भएको छ, साहले भन्नुभयो–“सम्झौता रकमले सडक निर्माणको काम बढाउन नसक्ने स्थिति आएको छ । सरकारसँग निर्माण व्यवसायीले पछिल्लो मूल्यवृद्धिको अवस्थाबारे जानकारी गराइसकेकाले त्यसबेलाको बोलकबोल रकमले निर्माणको काम गर्न नसक्ने स्थिति आएको छ ।”

दुहवीका स्थानीयले समयमै सडक विस्तारको काम गर्न नदिएका कारण अहिले सास्ती बेहोर्नुपरेको छ । ६ लेन सडकको सीमाक्षेत्र समयमै क्लियर गर्न नदिएका कारण ठेक्का ढिलो लागेको बताइएको छ । दुई करोड रुपियाँमा मर्मत गर्नेगरी ठेक्का लिइएको सडकको काम पछिल्लो डेढ महिना यता भइरहेको छ । साहले २० दिन सडक क्लियर गर्न लागेको र बाँकी काम अगाडि बढिरहेको बताउनुभयो ।

कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ ६ लेन सडक विस्तार आयोजना २०६८ सालदेखि नै सुरु भएको थियो । सुनसरीको दुहबी बजार ६३० मिटर दूरीलाई सरकारले ‘बिल्टअप एरिया’घोषणा गरेको थियो । त्यही प्रावधानमा टेकेर स्थानीय सडक विस्तार गर्न नदिएका कारण अहिले सास्ती बेहोर्नुपरिरहेको छ । 

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालयले सुनसरीको दुहवी बजारक्षेत्रमा विस्तार बाँकी राखेको २ किलोमिटर दूरीमध्ये १३७० मिटरको निर्माण र ६३० मिटर क्षेत्र मर्मतको काम गरिरहेको छ ।

 सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गको मापदण्ड २०३४ सालमा केन्द्रबिन्दुबाट २५–२५ मिटर निर्धारण गरिएको थियो । तर २०५४ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारको सिफारिसमा दुहवी बजारको ६३० मिटर क्षेत्रलाई ‘बिल्टअप एरिया’ घोषणा गर्दै सडक सीमालाई केन्द्रबिन्दुबाट दायाँ–बायाँ ८.३–८.३ मिटर निर्धारण गर्ने निर्णय गरिएको थियो । 

व्यापारिक राजमार्ग नामकरण गरिएको रानी–किमाथाङ्का सडकको पहिलो खण्ड रानी–तरहरासम्मको ३४.६ किलोमिटर दूरीको काम दुहबी बजारबाहेक करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।