• ४ जेठ २०८१, शुक्रबार

महाकुम्भ महोत्सवमा बढ्यो चहलपहल

blog

सचिन पोख्रेल

चतरा (सुनसरी), बैशाख १ गते । प्राचीन हरिद्वारका रूपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ । नेपाल र भारतबाहेक भुटान, म्यान्मार, बेलायत, अमेरिका, क्यानडा, बेल्जियम, अस्ट्रेलियालगायतका देशबाट भक्तजन आउने क्रम जारी छ ।

महाकुम्भ महोत्सवका अवसरमा चतराधाममा श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा वाचन सुरु गरिएको पनि व्यापक रूपमा भक्तजनको घुइँचो लागेको छ । जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ चतराधाम तथा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा नेपाल आमाकी सुपुत्री चन्द्रकला सखीको मुखाराबिन्दबाट सुरु गरिएको श्रीराम कथा श्रवणका लागि देश विदेशबाट हजारौँ भक्तजनको उपस्थिति रहेको पीठका प्रवक्ता गोविन्दबाबु तिवारीले जानकारी दिनुभयो । 

जगद्गुरु रामानन्दचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको सङ्कल्पमा सुरु भएको श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा श्रवणका लागि भक्तजनको बृहत् सहभागिता रहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । त्यसै गरी पीठको आयोजनामा आगामी वैशाख ५ दखि चतराधामस्थित हनुमान मन्दिर क्षेत्रमा सङ्कटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथा वाचन गरिने भएको छ ।  ।  

भारतको प्रसिद्ध वागेश्वरधाम सरकार पीठका पीठाधीश धीरेन्द्र शास्त्री वागेश्वर सरकारको विशेष उपस्थितिमा आयोजना गरिने श्रीहनुमद् महायज्ञ, श्रीहनुमद् कथा वाचनका साथै करिब दुई अर्ब रुपियाँको लागतमा निर्माण गरिने श्रीयन्त्र आकारको विशेष श्रीराम मन्दिरको शिलान्यास गरिने छ ।  सङ्कटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथा श्रवणका लागि दैनिक एक लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको प्रवक्ता तिवारीको भनाइ छ  ।

धर्तीकै पहिलो तीर्थ वराहक्षेत्रको काख चतराधाममा  मेलाका अवसरमा दैनिक धार्मिक सत्संग हुँदै आएको छ । धार्मिक विद्वान्हरूबाट दैनिक पाठपारायण र कथा प्रवचनसमेत भइरहेको छ । दैनिक धार्मिक सत्संगमा रमाउन र धार्मिक लाभ लिन धार्मिक पर्यटक आउने गरेका छन् । सप्तकोशी–कौशिकी तट किनारमा साँझमा महाआरतीसमेत हुँदै आएको छ ।