• १२ साउन २०८१, शनिबार

भोज र भोजन

blog

पाश्चात्य मुलुकहरूमा सङ्घ संस्था वा अभियान विशेषका लागि लन्च, डिनर वा त्यस्तै खानेकुराको कार्यक्रम बनाउने चलन छ । त्यही चलन हिजोआज नेपालमा पनि चल्न थालेको छ । टिकट दर १५ सय रुपियाँ उल्लेख भएको यस्तै एउटा कार्यक्रमको निमन्त्रणापत्रमा कार्यक्रमलाई भोज भनेर लेखिएको पाइयो । हेर्दा सामान्य लाग्ने यो विषयलाई नेपाली सांस्कृतिक मूल्य र मान्यताबाट हेर्दा भने नमिल्दो देखिन्छ । संस्कृतिको दृष्टिकोणबाट पर्गेल्दा यस विषयले गम्भीर छलफलको माग गर्छ । 

आयोजकका अनुसार यस कार्यक्रममा नेवार परम्परा अनुसार खाना खुवाउने रहेछ । परम्परागत नेवार जनजीवनमा भोज खाँदा लहरै बसेर र सकेसम्म जेठोपाकोलाई मानसम्मान गर्दै माथि र त्यसपछि अरू उमेरहरू क्रमैसँग तल लहरै बसेर खाने गरिन्छ । लहरै बस्ने भएर ‘झ्वः भ्वय्’ वा सुकुलमा पलेटी कसेर खाने भोज भएर ‘सुकू भ्वय्’ पनि भनिन्छ, यसलाई । भोज र भोय् उही हो, भाषागत रूपभेद मात्रै हो । 

नेवार भोजको परम्परामा आफ्नै सांस्कृतिक नियमहरू पालना गरिन्छन् । यसमा खुवाइने परिकार क्रमशः पस्कँदै जाने हुन्छ र पस्कने ल्याइने परिकारले भोज सुरु भएको, मध्य भागमा पुगेको र सकिन लागेको तथा सकिएको सङ्केत दिन्छ । भोजमा पस्कने अनेक विधिका परिकारले नेवार भोज अलि लोकप्रिय हुने गरेको पनि पाइन्छ । यति मात्र होइन, नेवार भोजमा सहभागी कोही पनि बिचमा उठ्न पाउँदैनन् । नखाने भए पनि बसेपछि बसी राख्नुपर्ने सामाजिक मान्यता छ । 

बिचमा कोही जुरुक्क उठ्नुलाई असामाजिक तथा अमर्यादित मानिन्छ । कथंकदाचित् उठ्नु नै परे दायाँबायाँ रहेका सबैलाई त्यसको कारण बताएर स्वीकृति लिएर मात्र उठ्न मिल्छ । यत्तिकै उठ्दा भोज बिगार्न आएको अर्थमा लिने सम्भावना हुन्छ किनभने कोही यसरी जुरुक्क उठ्दा भोजकै अपमान गरेको, बहिष्कार गरेको मानिन्छ । कतिपय सन्दर्भमा त्यसरी कोही उठ्दा अन्य पनि उठ्ने चलन पनि पाइन्छ र भोज बिग्रन पुग्छ । 

भोजको आयोजना विभिन्न प्रसङ्गमा गरिन्छ । सामान्यतः भोज भनेर विभिन्न उत्सव तथा सन्दर्भ विशेषमा आतिथ्यको आमन्त्रणमा खाने गरिन्छ तर यसमा पैसा तिर्ने कुरा पटक्कै आउँदैन । बरु विवाह, व्रतबन्धमा जाँदा उपहार वा नगद दिने चलन छ । साथीभाइ मिलेर निश्चित पैसा उठाएर भोज खाने चलन पनि नभएको होइन । यस्तो भोजलाई ‘धेवा ल्हाना भ्वय्’ (पैसा हालेर खाने भोज) त भनिन्छ तर सांस्कृतिक तथा धार्मिक सन्दर्भ जोडिएको छैन भने जतिसुकै ठुलो वा रमाइलो भए पनि त्यसलाई भोजन मात्रै भनिन्छ, भोज भनिँदैन ।

सामाजिक सङ्घ संस्थाहरू चलाउन तथा विशेष अभियानका लागि अर्थ सङ्कलनका लागि आयोजना गरिने खानपानको कार्यक्रमलाई पनि भोज भन्न मिल्दैन । सांस्कृतिक झाँकी दिने, परम्परागत परिकारहरू नै पस्कने र परम्परागत तौरतरिकाले नै बसेर खाने भए पनि त्यसलाई भोज भन्न मिल्दैन तर हिजोआज भोज भन्न थालेको पाइन्छ । यसको ठिक उल्टो परम्परागत नभएर बदलिँदो परिवेश अनुसार आधुनिक तौरतरिका र परिकारसहितको भोजन नै यदि धार्मिक, सामाजिक तथा सांस्कृतिक सन्दर्भमा आयोजना हुन्छ भने त्यसलाई भोज भनिन्छ । नाफा आर्जनका लागि सशुल्क आमन्त्रण गरिने र परम्परागत तरिकाले खुवाइने कार्यक्रमको आयोजना गरिन्छ तर वास्तविकता त के हो भने, भोज खुवाउनेले खुला दिलले खुवाउने हुन्छ, पैसा लिएर खुवाउने चलन हुँदैन । खानपानलाई नै भोज भन्नुले भोजको अर्थ दिँदैन । उदाहरणका लागि सामान्यतः नेपाली जनजीवनमा दिनको तीन पल्ट खाने चलन छ । खाने कुरा दालभात तरकारी नै भए पनि बिहानको खानालाई नेवार समाजमा ‘ज्यःनाः’ भनिन्छ भने बेलुकाको खानालाई ‘बेलि’ भनिन्छ । 

भोज, बिहान खाओस् वा बेलुका, त्यसलाई भोज नै भनिन्छ । दैनिक रूपमा खाने खानपानलाई भोज नभन्ने मात्रै होइन, सीमित व्यक्ति बिचको खानपानलाई पनि भोज भनिँदैन । छोरी वा ज्वाइँ नै माइत वा ससुरालीमा जुन बेला पनि गएर खानपान गर्न सक्छन् तर त्यसलाई भोज भनिँदैन तर चाडबाडमा ‘नखत्या’ को रूपमा आमन्त्रण गरेर खुवाउने भोजन वा खानालाई भने भोज भन्न मिल्छ । 

यसै गरी होटेल वा रेस्टुरेन्टमा पैसा तिरेर खान जानुलाई भोज भनिँदैन । खाने नै भए पनि पिकनिक जानुलाई भोज भनिँदैन । साथीभाइ मिलेर सँगै पकाएर खाएकोलाई पनि भोज भनिँदैन । अर्थात् भाषागत रूपमा भोज र भोजन समानार्थी शब्द हुन् तर सांस्कृतिक जनजीवनमा भोज र भोजनले बेग्लै अर्थ दिन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ मा भोज शब्दको अर्थ ‘कुनै चाडवाड, बिहे बटुलो आदिमा धेरै मानिस सम्मिलित भएर खाइने विशेष भोजन; भत्तेर; सहभोजन’ भनेर अर्थ दिइएको छ भने भोजनको अर्थमा ‘भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ’ उल्लेख छ । अर्थात्, शाब्दिक अर्थमा भोजन र भोज उही हो तर सामाजिक तथा सांस्कृतिक जनजीवनमा भोजले दिने अर्थ भोजनले दिँदैन । भोज शब्दमा भोजन मात्रै नभएर संस्कृतिको एउटा गरिमा निहित हुन्छ । यो नितान्त रूपमा भावनात्मक कुरा हो । सांस्कृतिक जनजीवनमा तात्त्विक  भिन्नता रहेको हुन्छ । भोजको अर्थ खानपान वा भोजन मात्रै होइन । सांस्कृतिक अर्थबोध नगर्ने हो भने भोज नै फेरि भोजन मात्रै हुन सक्छ । भोजमा एउटा बेग्लै स्वाद हुन्छ । जस्तो भए पनि भोजमा एउटा बृहत् अर्थ हुन्छ र भावनासँग जोडिएको हुन्छ । 

भोज र भोजनको सांस्कृतिक भेद छुट्याउनका लागि केही अन्य शब्दको उदाहरण लिन सकिन्छ । शाब्दिक रूपमा पानी र जल एउटै हो तर सांस्कृतिक रूपमा फरक हुन्छ । पानी पिइन्छ तर जल चढाइन्छ । जल नितान्त रूपमा पूजाआजासँग सम्बन्धित हुन्छ । पवित्र मानिन्छ । मूल, नदी वा धाराबाट थाप्दा विशेष ध्यान दिएर सतर्कताका साथ थापिन्छ र त्यसलाई जल भनिन्छ तर पानी थाप्दा त्यसरी सतर्कता अपनाइँदैन । तिर्खा मेट्नका लागि पानी पिइन्छ तर तिर्खा मेट्न नभएर श्रद्धाले युक्त भएर जल ग्रहण गरिन्छ । जलमा बेग्लै धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता हुन्छ । पानीमा त्यस्तो हुँदैन तर भौतिक रूपमा जल र पानी एउटै हो । भोज र भोजनलाई पनि यसरी नै अथ्र्याउनु पर्छ । 

   

Author

वसन्त महर्जन