गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १७ गते । नेपाल वायुसेवा निगम मङ्गलबार स्थापनाको ६८ औँ वर्षमा प्रवेश गरेको छ । २८ सिट क्षमतायुक्त डोग्लस डिसी तीन डाकोटाबाट सेवा आरम्भ गरेको निगमले विभिन्न आरोह अवरोहका बिच हाल वाइडबडी ए ३३०–२०० सिरिजका विमानमार्फत हवाई सेवा दिँदै आएको छ ।
निगमको हवाई इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम समय मानिने गरिन्छ । त्यसबखत गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाकादेखि चीनको साङ्घाई हुँदै युरोपली मुख्य सहरहरू लन्डन, पेरिस, फ्य्राङ्कफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमानचालक (पाइलट) प्रशस्त थिए । त्यतिखेर दक्षिण एसियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रूपमा स्थापित निगमले विश्वका २० वटा सहरमा उडान भर्ने गरेको थियो ।
सानाठुला गरेर कुनै बेला २१ वटा जहाज रहेको निगम हाल अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका जहाजबाट आठ मुलुकका १० वटा गन्तव्यमा खुम्चिएको छ । त्यसै गरी आन्तरिकतर्फ व्यावसायिक उडानका लागि जहाज नहुँदा १९ सिट क्षमताका दुई वटा साना जहाजबाट दुर्गम भेगका विमानस्थलमा राज्यको उपस्थिति जनाइरहेको छ ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्ने, पर्यटन प्रवर्धन र आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै राज्यको सानका रूपमा स्थापित निगम अहिले गुम्दै गएको आफ्नो बजार हिस्सा जोगाउन राज्यले साथ दिनुपर्ने अवस्थामा आएको छ ।
उहाँले भन्नुभयो, “गौरवशाली र उदाहरणीय इतिहाससहित पर्यटन प्रवर्धन तथा आर्थिक सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको निगमले आफ्नो स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा प्रदान गर्दै आइरहेको छ । निगमसँग भएका जहाजले मात्र अन्तर्राष्ट्रिय र राष्ट्रिय गन्तव्य विस्तार गर्न पर्याप्त नहुने भएकाले जहाजको सङ्ख्या वृद्धि गर्दै सुरक्षित, सुलभ, सस्तो र भरपर्दो हवाई सेवा उपलब्ध गराउन राज्य अभिभावक बन्नुपर्ने आवश्यकता छ ।”
निगमले आन्तरिकतर्फ आफ्नै स्रोतमा जहाज थप्ने, प्रदेश सरकारसँग मिलेर जहाज खरिद गर्ने र अन्तर्राष्ट्रियतर्फ लिजमा जहाज ल्याएर सञ्चालन गर्ने व्यावसायिक कार्ययोजनामाथि छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले समग्र नेपाली हवाई यातायातकोे अवस्था हेर्दा आन्तरिकतर्फ निगमको बजार हिस्सा तीन प्रतिशत छ भने अन्तर्राष्ट्रियतर्फ निगमको २० प्रतिशतको हाराहारीमा मात्र छ ।
पछिल्लो समय निगम समयानुकूल प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, परम्परागत कार्यशैलीको सट्टा समयसापेक्ष र नतिजामुखी कार्यशैली अवलम्बन गर्न र कार्यसम्पादनमा पारदर्शिता कायम गर्नु जस्ता चुनौतीको सामना गरिरहे पनि निगमको स्थापनाकालदेखि अहिलेको अवस्था अनुसार समग्र देशको वायुसेवा उद्योग भने समृद्ध बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निगमले नेपाली जनतालाई जहाजका रूपमा मात्रै चिनाएको छैन, यसको स्थापनाले मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “निगम पछिल्ला केही वर्षयता आर्थिक रूपमा धराशयी बन्दै गए पनि नेपाली हवाई इतिहासको जग बसाल्न यसको स्थापना कोसेढुङ्गाका रूपमा स्थापित भइसकेको छ ।
घाँसे मैदानबाट सुरु भएको नेपालको हवाई अवस्था अहिले अधिकतम सूचना र प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको छ । यसमा निगमको पनि योगदान रहँदै आएको छ ।” पछिल्लो समय नेपालको हवाई क्षेत्रमा थुप्रै प्राविधिक र भौतिक प्रगति भइसकेको जानकारी दिँदै उहाँले मुलुकभित्र निर्माण भएका सानाठुला विमानस्थल निर्माणले मुलुकको हवाई उड्डयन इतिहासमा महत्त्वपूर्ण फड्को पारिसकेको जानकारी दिनुभयो ।
हवाई पूर्वाधार विकास र सेवा सुदृढीकरणमा नेपालले प्रगति गर्दै १० वटा विमानस्थलमा अत्याधुनिक उपकरण जडानदेखि रात्रिकालीन उडान भइरहेको उहाँको भनाइ छ । अहिले नेपालमा तीन वटा अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल निर्माण भइसकेका छन् । यसमध्ये ४२ वटा विमानस्थलको धावनमार्ग पक्की बनिसकेको छ । अहिले प्राधिकरणमा १०९ वटा वायुयान दर्ता भएका छन् ।
हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएपछि पछिल्लो समय वायुसेवा कम्पनीबिच जहाज थप्ने प्रतिस्पर्धाका बिच नेपाललाई युरोपेली सङ्घको कालो सूचीबाट उम्किन निगम र प्राधिकरणले थप गृहकार्य गर्नुपर्ने देखिएको छ ।
यसैबिच भारतीय आकाश हुँदै नेपाल भित्रने जहाजका लागि सीमित हवाई प्रवेशविन्दु मात्रै भारतले उपलब्ध गराएको छ । पश्चिम दिशाबाट आउने जहाजका लागि सहज हवाई प्रवेशविन्दु उपलब्ध गराउन नेपाली पक्षले भारतसँग पटक पटक हवाई प्रवेशविन्दु माग गरिरहे पनि भारतले आनाकानी गरिरहेको छ ।
भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाट मात्र प्रवेश हुन्छन् । महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र वीरगन्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ तर सोमबार दिल्लीबाट अरुणाञ्चलको इटानगर विमानस्थलका लागि उडेको इन्डिगो एयरको जहाज नियमित हवाई मार्गभन्दा बाहिरबाट नेपाली भूभागमा प्रवेश गरेर पुनः भारत फर्किएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सोमबार दिउँसो भैरहवा हवाई विन्दुबाट नेपाल प्रवेश गरेर सिमराबाट भारत पुगेको उक्त जहाज मौसमी गडबडीका कारण नेपाल प्रवेश गरेको दाबी गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अकस्मात् मौसममा आएको खराबीका कारण भैरहवाबाट नेपाल प्रवेश गरेको इन्डिगोले नेपाललाई जानकारी गराएर, नेपालको टावरसँग अनुमति मागेर प्रवेश गरेको हो । उक्त हवाई रुट सधँैका लागि प्रयोगमा आएको होइन ।”
भैरहवा रुटबाट हाल जहाज बाहिर जान भने पाउँछन् । भैरहवा रुटबाट जहाजले प्रवेशविन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्ने देखिन्छ । काठमाडौँ विमानस्थल आउनलाई पनि त्यहाँबाट आएका जहाजलाई छोटो दुरी पर्ने मानिन्छ ।