• २३ असार २०८१, आइतबार

देउरालीमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

blog


चन्द्र पन्दाक


ताप्लेजुङ,,वैशाख ४ गते । ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो ।


जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्नेगरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । राईका अनुसार अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको छ ।


मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार वातारणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनी एसएनपीका आयोजना सुपरभाइजर अमृत भट्टराईका अनुसार संरचना निर्माणमा वातावरणमैत्री कच्चापदार्थ र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको छ ।


भट्टराईले गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोतकेन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताउनुभयो । उल्लेखित निर्माण सामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूलित प्रकृतिको हुने पनि उहाँले बताउनुभयो । अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ ।


यता केन्द्र स्थापनाले वन र दुर्लभ वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास राखिएको देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले बताउनुभयो । स्थानीय जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन, सदुपयोगसहित पर्यटन प्रवर्धन गरी उपभोक्ता समूहको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पनि केन्द्र निर्माण गरिएको शेर्पाले बताउनुभयो । दुर्लभ रेडपान्डासहित संरक्षित जङ्गली जनावर, जडीबुटीलगायत प्रजातिको प्रदर्शनी स्थलका रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ छ ।