• १९ वैशाख २०८१, बुधबार

विसं २०८० सुशासनको शङ्खघोष

blog

काठमाडौँ, वैशाख १ गते । संविधान कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सबलीकरण, नागरिकलाई अधिकारसम्पन्न बनाउने र सुशासनका पक्षमा नवीनतम् प्रयासका बिच २०८० साल बिदा भएको छ । सरकारी निकायका काम कारबाहीलाई व्यवस्थित गरी नागरिकलाई सेवा दिने कार्यलाई सहज बनाउने पक्षमा सरकारले केही महत्वपूर्ण थालनी गरेको छ तर प्रभावकारी कार्यान्वयनको पाटो बाँकी छ । 

संविधान निर्माणपछि सम्पन्न दोस्रो आवधिक निर्वाचन २०७९ पछि २०८० लाई निकै महत्वपूर्ण उपलब्धि हुने वर्षका रूपमा हेरिएको थियो । संविधान कार्यान्वयन र कानुन निर्माणका सन्दर्भमा अधिकतम प्रयास भए पनि जनताबिच ‘सुनिने र देखिने’ गरी सरकारका कामकारबाहीको सञ्चार हुन सकेन ।

सुशासनका सन्दर्भमा सरकारको नीतिले नागरिकमा राज्यप्रतिको विश्वास भने बढ्यो । सुशासन नहुँदा देखिएको बेथितिविरुद्ध राज्यले कठोर कदम चालेपछि नागरिकमा आशा पलायो । २०८० सालमै संविधानविरोधी र अराजकताको पक्षपोषण गर्ने समूहका क्रियाकलाप पनि देखिए । यद्यपि ती क्रियाकलाप क्रमशः सेलाएका छन् । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण परिवर्तन गर्नुभएको सन्दर्भ पनि चर्चामा रह्यो । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सुशासनका पक्षमा दृढ भएर अगाडि बढ्नु र वर्तमान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भ्रष्टाचारका महत्वपूर्ण मुद्दामा फाइल खोल्नुले सरकार सुशासनका पक्षमा छ भन्ने सन्देश जनतामाझ पुग्यो । 

राजनीतिक दलका नेता र राजनीतिक विश्लेषकले पनि सुशासनका पक्षमा सरकारले अगाडि बढाएको त्यो कदमलाई निरन्तरता दिँदै राज्यको सेवा प्रणाली व्यवस्थित गर्न, नागरिकका चाहना पूरा गर्न, संविधानको प्रभावकारी कार्यान्वयन, सङ्घीयताको आभास नागरिकलाई हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले २०८१ सालमा राजनीतिक दलको सबैभन्दा महत्वपूर्ण कार्यभार राष्ट्रका समस्या समाधान गर्न सहकार्य रहेको बताउनुभयो । 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. लोकराज बराल, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीमगरले २०८० साललाई राजनीतिक रूपान्तरणको नवीन कार्यदिशा र सुशासनका पक्षमा महत्वपूर्ण काम भएको प्रस्ट पार्नुभयो ।

सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध प्रयास 

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा सरकारको पहल सकारात्मक रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका सन्दर्भमा कदम चालेको भए पनि धेरै काम बाँकी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुशासनका सन्दर्भमा महत्वपूर्ण काम भएका छन् । सुशासनको प्रत्याभूति दिने गरी काम भएका छन् । भ्रष्टाचारका ठूला फाइल खोल्नु सामान्य कुरा होइन । त्यसैले २०८० साललाई समग्रमा सुशासनको प्रस्थानबिन्दुका रूपमा लिनु पर्छ ।” प्राडा बरालले भ्रष्टाचारका सन्दर्भमा केही सुरुवात सकारात्मक रहेको बताउनुभयो । उहाँले सुशासनका पक्षमा सरकारले चालेका कदमलाई व्रmमशः अगाडि बढाउन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “सुशासनका पक्षमा सरकार दृढ छ भन्ने सन्देश गृहमन्त्रीको जिम्मेवारीमा रहँदा नारायणकाजी श्रेष्ठले दिनुभयो । उहाँको प्रयास सराहनीय छ तर त्यसको निरन्तरता हुनु पर्छ । अनि मात्रै राज्य भ्रष्टाचारविरुद्ध स्पष्ट रूपमा लागेको छ भन्ने पुष्टि हुन्छ ।”

एमाले उपाध्यक्ष शाक्यले देशले विकास पर्खिएको र सुशासनमार्फत भ्रष्टाचारमुक्त नेपाल बनोस् भन्ने जनचाहना रहँदा सरकारका प्रयास त्यसतर्फ केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका प्रयासका सन्दर्भमा २०८० साल सफल हो ।”

संविधान प्रभावकारी कार्यान्वयन 

पूर्वप्रधानमन्त्री नेपालले २०८० सालमा संविधान कार्यान्वयनका सन्दर्भमा केही काम भए पनि जनताको निराशा अन्त्य गर्न २०८१ साललाई स्वर्णिम वर्ष बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०८० साल सोचे, चाहेजस्तो रहेन, निराशाकै अवस्था पनि रहेन । संविधानमाथि चुनौती देखा परे, तर पनि संविधानले परिकल्पना गरे अनुसार समाज निर्माणका प्रयत्न भएकै हुन्, अब ती कामलाई पूरा गर्नु पर्छ ।”

उहाँले सामाजिक न्यायको प्रत्याभूति, जनताका आकाङ्क्षा परिपूर्ति गर्ने र राष्ट्रको इज्जत प्रतिष्ठा तथा गौरवलाई उजागर गर्ने गरी काम अगाडि बढाउनेतर्फ राजनीतिक दल अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य तीन कामलाई ध्यानमा राखेर जनतालाई अधिकारसम्पन्न बनाउनु पर्छ ।” 

डा. बरालले २०८० सालमा सरकारले गरेका प्रयास पर्याप्त नभएको बताउँदै संविधान कार्यान्वयन गरी, सङ्घीयताको सार्थक कार्यान्वयन, विकास र समुन्नतिको मार्गमा देशलाई अघि बढाउनुपर्ने बताउनुभयो । 

कांग्रेस महामन्त्री शर्माले संविधानको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सबै राजनीतिक दल एकताबद्ध भएर रचनात्मक ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०८० सालसँग सिकेर २०८१ मा अगाडि बढ्नु पर्छ । नवीन सङ्कल्प, नयाँ सोच, शैली र जाँगरका साथ जनताका पक्षमा दृढ भएर काम गर्नु पर्छ ।” पूर्वसभामुख घर्तीमगरले संविधान कार्यान्वयनको सन्दर्भमा २०८० साल प्रभावकारी हुन नसकेको स्वीकार गर्दै २०८१ मा सर्वसम्मतिमा नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको जोड पनि संविधान निर्माणका सहयात्रीबिचको सहकार्यमै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजीले हामीले मिलेरै राजतन्त्र अन्त्य गरेर संविधान बनाएका हौँ भन्नुभएको छ । उहाँको आग्रह पनि सबैले सहकार्य गर्नु पर्छ भन्ने नै छ । संविधानको सार्थक कार्यान्वयन गरेर समृद्धिको कार्यभार पूरा गर्नु पर्छ ।”

समृद्धि साझा प्रतिबद्धता

पूर्वप्रधानमन्त्री नेपालले समृद्धि र समुन्नतिको यात्रा अगाडि बढिसके पनि सार्थक परिणाम आउन नसकेको बताउनुभयो । उहाँले २०८१ सालमा समृद्धिको साझा प्रतिबद्धता पूरा गर्ने दायित्वमा सबै दल इमानदार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादको लक्ष्य हासिल गर्न, जनताका समस्या समाधान गर्न वैज्ञानिक सोच, दीर्घकालीन र दूरदर्शी नीति लिएर काम अगाडि बढाउनु पर्छ ।”

महामन्त्री शर्माले समुन्नतिको पक्षमा सरकारका हरेक कदममा प्रमुख प्रतिपक्षी दलको साथ र खबरदारी रहने बताउनुभयो । उहाँले समृद्धि र समुन्नतिको सन्दर्भ साझा मुद्दा रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी झगडा गर्नलाई माहिर छौँ, मिलेर अगाडि बढ्ने क्षमता राखिरहेका छैनौँ । मूल विषय समुन्नति हो । यसमा साझा धारणा बनाएर अगाडि बढ्नु पर्छ ।”

उपाध्यक्ष शाक्यले जनतालाई खुसी, सुखी र रोजगारयुक्त बनाउन सबै राजनीतिक दलले समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिका पक्षमा काम गर्न २०८० को समीक्षा नगरी नयाँ वर्षमा अगाडि बढ्न सकिँदैन ।” पूर्वसभामुख घर्तीमगरले समृद्धिका पक्षमा राजनीतिक दलबिच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०८१ मा दलहरूबिच नयाँ शिराबाट सहकार्य हुनु पर्छ । संविधान मिलेर बनाएकै हो । समृद्धि र समुन्नति साझा सङ्कल्प हो । यो कार्यभारलाई हामी सबै मिलेर पूरा गर्नु पर्छ ।