गोकर्ण पौडेल
तुलसीपुर, चैत ३० गते । सर्प संरक्षण गर्दै आउनुभएका प्रभात भण्डारी सम्मानित हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिका ७ का सर्प संरक्षणकर्मी प्रभात भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाले ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
दुई वर्ष यता भण्डारीले तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दंगीशरण गाउँपालिकाभित्र घर, सार्वजनिक स्थलमा रहेका विभिन्न प्रजातिका सर्पहरूको उद्घार गर्दै उचित बासस्थानमा छोड्दै आउनुभएको छ । उहाँले हालसम्म दुई सय वटा सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ ।
भण्डारीले अति विषालु कोभ्रा, करेट र अतिगर्मी ठाँउमा बस्ने रसोलभाइपर प्रजातिका सर्प घर,सार्वजनिक स्थलबाट समाएर जङ्गलमा छोड्दै आउनुभएको हो । भण्डारीले पालिकाको सम्मानले आफूलाई सर्प संरक्षणमा थप जिम्मेवारी बनाएको बताउनुभयो ।
पूर्व सिँचाइ मन्त्री एवम् प्रतिनिधि सभाका सदस्य दीपक गिरी तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सम्मान गर्नुभएको हो । पालिकाको स्थापना दिवसका अवसरमा सरसफाइ अभियन्ता, उत्कृष्ट करदाता, पालिकाको स्वास्थ्य संस्था,सडक,पुल निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको हो ।
त्यस्तै पालिकाभित्र रहेर राष्ट्रिय स्तरमा विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुलाई सम्मान गरिएको थियो ।