• १३ मंसिर २०८१, बिहिबार

प्रहरीको नागरिक सुनुवाइ अभियान

blog

बुद्धभूमि नगरपालिका-५ प्रेमनगरमा गरिएको नागरिक सुनुवाइ कार्यक्रम । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत ३० गते । प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नागरिक सुनुवाइ अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभियानमा मातहतका प्रहरी युनिट कार्यक्रम लिएर टोलटोलमा पुग्न सुरु गरेका छन् । 

कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले संयुक्त रूपमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेका छन् । बुद्धभूमि नगरपालिकाका-१ र ५ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

नागरिकहरूले जिल्लामा सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने, दुर्घटनाको जोखिम बढेको र यात्रुको सुरक्षा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । युवाहरूमा लागुऔषध दुर्व्यसनीको सङ्ख्या बढ्दै गएकोमा समेत उहाँहरुले चिन्ता व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अनिष भण्डारीले सडकको अवस्था र यात्रुको चापले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको बताउनुभयो। उहाँले क्षति कम गर्नका लागि सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक संस्थाबिचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने र सुशासन, पारदर्शिता र जवाफदेहिता बोध हुने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनुभयो ।