• २२ वैशाख २०८१, शनिबार

नेपालगन्जमा इदको तयारी

blog

इदुल फित्रको सामूहिक नमाजका लागि सरसफाइ गरेर तयार पारिएको इदगाह। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २८ गते। बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व इद मनाउने सबै तयारी पूरा गरिएको छ। यस वर्षको इदुल फित्र पर्व बिहीबार परेकोले सबै तयारी बुधबार नै पूरा गरिएको इदगाह सञ्चालक समितिले जनाएको छ। 

बुधबार रमजानको अन्तिम दिन भएकोले बजारमा बिहानैदेखि इदको खरिदारी गर्ने बढेकाले बजारमा बेग्लै रौनक देखिएको छ। गत केही दिन यता इदका लागि खरिदारी चलिरहेकोले बजार राति अबेरसम्म खुल्ने गरेको स्थानीय व्यवसायीले जनाएका छन्। 

जामा मस्जिद तथा इदगाह सञ्चालक समितिका महासचिव इर्फान सिद्धिकीका अनुसार मंगलबार बेलुकी निकै बेरसम्म इदको चन्द्रमा आकाशमा खोजिए पनि नदेखिएकोले हिलाल कमिटीले बुधबार अन्तिम रोजा राख्ने र बिहीबार इदुल फित्र मनाउने घोषणा गरेको थियो। 

सोही बमोजिम इदको सामूहिक नमाजका लागि बिपी चोकस्थित केन्द्रीय इदगाहको सरसफाइ गरिएको र नमाजको सबै तयारी पुरा गरिएको जनाउँदै महासचिव सिद्धिकीले बिहीबार बिहान आठ बजे इदको सामूहिक नमाज हुने बताउनुभयो। यसैगरी उपमहानगरका विभिन्न मस्जिदहरूमा पनि इदको नमाज आठ बजेपछि हुने जनाइएको छ। 

इदका दिन सहरका विभिन्न स्थानमा इद मिलन कार्यक्रम गरेर हिन्दु मुस्लिम सबैलाई समावेश गराई सेवई लगायतका खानेकुरा खुवाउने तयारी पनि पुरा भएको समुदायका युवा अगुवा अजिज मलिकले बताउनुभयो। 

उहाँले बिहीबार ठाउँ ठाउँमा इद मिलन गरेर सद्भाव र शान्तिका साथ एक अर्कालाई शुभकामना आदान प्रदान गरिने बताउनुभयो। बुधबार रमजानको अन्तिम दिन भएकोले बजारमा इदको रौनक र चहल पहल अत्यधिक बढेको छ। बिहानैदेखि बजारमा खरिदारी गर्नेको भीड लागेको सदरलाइनका व्यवसायी महमुद हलवाइले बताउनुभयो। 

बजारमा महिलाको सङ्ख्या अत्यधिक देखिएको जनाउँदै उहाँले चुरा, कस्मेटिक र रेडिमेड कपडा पसलसँगै सेवई, खजुर लगायतका पसलहरूमा मानिसको घुइँचो लागेको छ।  बिहीबार इदको सामूहिक नमाजपछि देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिने धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो।