• ५ जेठ २०८१, शनिबार

पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह

blog

लक्ष्मण पौडेल 

भैरहवा, बैशाख ३ गते । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो ।

लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु दैनिकजसो बढिरहेका छन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दा लुम्बिनीको आर्थिक चलायमान सुरु भएको व्यवसायीहरु बताउँछन् । पर्यटक आवागमन बढेपछि पर्यटन व्यवसायी उत्साहित छन् । कोरोना महामारीले लुम्बिनीको पर्यटन व्यवसाय ठप्प थियो । 

पछिल्ला साताहरुमा स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनीका होटलहरु भरिन थालेको स्थानीयको भनाई छ । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा कमी रहेपनि स्वदेशी तथा भारतीय पर्यटकको संख्याको ग्राफ बढ्दो अवस्थामा छ ।

कोरोना संक्रमणका कारण लुम्बिनी दर्शन गर्न नपाएका पर्यटकहरु अहिले दिनहुँ लामबद्ध भएर आउन थालेका छन् । लुम्बिनी विकास कोषको सूचना शाखाबाट प्राप्त तथ्यांकअनुसार सन् २०२२ को सुरुवाती तीन महिना जनवरी, फेबु्रअरी र मार्चमा एक लाख ८३ हजार १२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसमध्ये स्वदेशी र भारतीय पर्यटक संख्या बढी छ ।

तीन महिनामा सबैभन्दा बढी एक लाख ४७ हजार ४७३ जना स्वदेशी र ३४ हजार तीन सय ५४ जना भारतीय पर्यटकको लुम्बिनीमा आगमन भएको लुम्बिनी विकास कोषको सूचना शाखा पथ प्रदर्शक अधिकृत मुकुन्द गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार लुम्बिनीमा जनवरीमा ४१ हजार ८३३ जना स्वदेशी पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ४२ हजार २१३ र मार्चमा ह्वात्तै बढेर आगमन संख्या ६३ हजार ४२७ पुगेको छ । त्यस्तै जनवरीमा भारतीय पर्यटक सात हजार ७७५ जना आए भने फेब्रुअरीमा सात हजार ७४५ जना र मार्चमा संख्या बढेर १८ हजार ८३४ जनाले लुम्बिनी भ्रमण गरेका छन् ।

स्वदेशी र भारतीय पर्यटको संख्या बढ्दो अवस्थामा रहेपनि तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना संक्रमणका बेलाभन्दा तेस्रो मुलुकका पर्यटकको आगमन संख्यामा केही सुुधारोन्मुख देखिएको लुम्बिनी विकास कोषको सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो । “पहिलाजस्तो तेस्रो मुलुकबाट पर्यटकको आगमन भएको छैन”–उहाँले भन्नुभयो–“तर, कोरोना समयभन्दा अहिले केही सुुधारोन्मुख देखिएको छ ।”

लुम्बिनीमा जर्मनी, फ्रान्स, चीन, अमेरिका, श्रीलंका, स्पेन, भियतनाम लगायत मुलुकबाट पर्यटकहरुको आगमन भइरहेको छ । यी मुलुकबाहेक युद्धमा फसेको युक्रेनबाट समेत सात जना लुम्बिनी भ्रमणमा आएका छन् । त्यस्तै रसियाबाट ५७ जनाले लुम्बिनीको भ्रमण गरेका छन् । 

पछिल्लो तीन महिनामा तेस्रो मुलुकबाट एक हजार १८५ जना पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा तेस्रो मुलुकबाट जनवरीमा २५३ जना पर्यटकको आगमन भयो भने फेब्रुअरीमा ३०६ जना र मार्चमा संख्या बढेर ६२६ पुगेको बताइएको छ ।

पर्यटकको आगमनको अफ सिजन पनि भएकोले तेस्रो मुलुकबाट पर्यटकको संख्या ह्वात्तै बढ्न नसकेको सूचना अधिकृत बस्नेतको भनाई छ । अन्तर्राष्ट्रिय पर्यटन वर्ष (सन् २०२२) को अन्तिमतिर सुरु हुने देखिएकाले त्यसपछि लुम्बिनीमा पर्यटकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

लुुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पछिल्लो समय लुुम्बिनीमा पर्यटकको आगमनमा सुधार भएको बताउनुभयो । तर बिहान आएर बेलुका फर्किने पर्यटक धेरै भएकाले व्यवसायीले फाइदा लिन नसकेको उहाँको बुझाई छ ।