• १० मंसिर २०८१, सोमबार

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबिच सम्झौता

blog

कीर्तिपुर (काठमाडौँ), चैत २७ गते । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबिच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा.वाङ डिङह्वाबीच यससम्बन्धी सम्झौतामा आज हस्ताक्षर भयो । 

सम्झौताअनुसार त्रिवि र बेइजिङ फरेन स्टडिजबिच विद्यार्थी, प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारी एक अर्कोमा आदान-प्रदान गर्ने छन् । दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धानमा सहकार्य गर्ने तथा शैक्षिक सामग्री तथा सूचना आदान-प्रदान गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता कार्यान्वयनका लागि दुवै विश्वविद्यालयबिच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गर्न सकिने पनि सम्झौतामा उल्लेख छ ।

सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुनेछ । त्यसअवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा.डिङह्वाले सम्झौताले दुई विश्वविद्यालयबिच मात्र नभई नेपाल र चीनबिचकै दौत्यसम्बन्धीमा नयाँ आयाम थपेको बताउनुभयो । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग बेइजिङ फरेन स्टडिजले यस प्रकारको सम्झौता गरिसकेको उहाँले बताउनुभयो । 

प्राध्यापक डा.डिङह्वाले दुवै विश्वविद्यालयबिच गहन सहकार्यका लागि दुवैका भाषा विभागबिच प्राज्ञिक ज्ञानको आदान-प्रदान सुरु गरिनुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानका क्षेत्रमा समेत दुवै विश्वविद्यालयबिच सहकार्य गरिनुपर्ने उहाँको भनाइ थियो । त्रिवि उपकुलपति बरालले दुई विश्वविद्यालयबिच आ-आफ्नो देशका मौलिक र परम्परागत ज्ञानको आदान-प्रदान, नेपाल-चीनबिच सीमावर्ती क्षेत्र अर्थात् हिमाली भेगको प्राज्ञिक अध्ययन र हिमाली क्षेत्रमा प्रख्यात उपचार पद्धति आम्चीको थप बिस्तारका लागि प्रयत्न गर्ने पनि सम्झौतामा उल्लेख छ । 

त्रिविको मानविकी संकायका डिन प्राध्यापक डा.कुसुम शाक्यले बेइजिङ फरेन स्टडिज विश्वविद्यालय र त्रिविबिच भएको सम्झौता अक्षरशः लागू हुनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका तर्फबाट अध्यक्ष डिङह्वा, एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छु ए, निर्देशक हे जेङ्ग र त्रिविस्थित स्कुल अफ एसियन स्टडिजका निर्देशक जिङ्ग युन (इन्दिर) लगायतको उपस्थिति थियो । रासस