• १३ मंसिर २०८१, बिहिबार

तत्काल सङ्घीय निजामती सेवा ऐन जारी गर्न जरुरी

blog

कार्यक्रममा सहभागी ।

रमेश विश्वकर्मा

गुल्मी, चैत २७ गते । गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले तत्काल सङ्घीय निजामती सेवा ऐन जारी गर्न जरुरी रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीद्वारा आयोजित नव वर्ष २०८१ को भित्तेपात्रो लोकार्पण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 

त्यस अवसरमा बोल्ने अधिकांश वक्ताले सङ्घीय निजामती सेवा ऐना प्रतिनिधि सभामा दर्ता भएको हुँदा कानुनी प्रक्रिया पूरा गरेर छिटो जारी गर्नुपर्ने बताउनुभयो । निजामती सेवा ऐन जारी हुन नसक्दा सार्वजनिक सेवा प्रवाहमा कठिनाइ भएको छ । प्रदेश र स्थानीय तहको कर्मचारी कानुन बन्न नसक्दा समायोजन भएका कर्मचारीलाई सेवा प्रवाहमा वाधा उत्पन्न भएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले बताउनुभयो । 

उहाँले कर्मचारीको वृत्ति विकास तथा सरुवा समस्या देखिएको भन्दै आउने निजामती सेवा ऐनमा चक्रीय सरुवा प्रणालीको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । प्रतिनिधि सभामा पेश गरिएको निजामती सेवा ऐनमा ट्रेड युनियनसम्बन्धी व्यवस्थालाई यथावत राख्न आवश्यक रहेको भन्दै कर्मचारीमैत्री ऐन हुनुपर्ने बताउनुभयो । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिमबहादुर अधिकारीले सङ्घीय निजामती सेवा ऐनमा सुधारिएको ट्रेड युनियनको अनिवार्य व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सेवाग्राही प्रति उत्तरदायीसँगै बढी जिम्मेवारी बन्दै सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउन जरुरी रहेको बताउनुभयो ।

गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले निजामती कर्मचारी सार्वजनिक सेवा प्रवाहसँगै सामाजिक कार्यमा समेत लाग्नुपर्ने बताउनुभयो । सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि कार्यालयबाट प्रदान गरिने सेवामा सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

त्यस्तै, नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले निजामती कर्मचारीले जनतालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने भन्दै सबैले मुस्कानसहितको सेवा प्रवाह गर्न जरुरी रहेको बताउनुभयो । सङ्घीय निजामती सेवा ऐनलाई तत्काल जारी गर्नको लागि पार्टी केन्द्रसँग आवश्यक समन्वय गर्ने भन्दै उहाँले सेवा प्रवाहमा कुनै पनि कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।