• १३ मंसिर २०८१, बिहिबार

पशु कल्याण मापदण्ड कार्यान्वयनमा जोड

blog

पशु कल्याणसम्बन्धी मापदण्डका बारेमा जानकारी गराउनुहुँदै मन्त्रालयका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रबेशसिंह कुँवर । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २७ गते । कृषि तथा भूमि व्यवस्था मन्त्रलाय लुम्बिनी प्रदेशले सोमबार नेपालगन्जका पत्रकारहरुसँग डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी मिडिया बृफिङ् तथा जानकारी कार्यक्रम गरेको छ ।

मन्त्रालयको आयोजना तथा स्नेहाज केयर र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रालिको संयोजन तथा समन्वयमा नेपालगन्जका पत्रकारहरुसँग पशु कल्याण मापदण्ड कार्यान्वयनका बारेमा मिडिया बृफिङ् तथा जानकारी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रबेशसिंह कुँवरले व्यवसायिक रुपमा गाईभैँसी पालन गर्ने फार्महरुले असल उत्पादन अभ्यास अवलम्बन गर्दै गाईभैँसीप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशु कल्याणको अवस्था सुनिश्चित गर्नका लागि लुम्बिनी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को नियम (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले पशु कल्याण मापदण्ड बनाई लागु गरेको जानकारी दिनुभयो ।

उहाँले पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने, पिडा, चोटपटक र रोगब्याधिबाट सुरक्षित राख्ने तथा सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गर्नेलगायतका स्वतन्त्रताहरु पशु कल्याण मापदण्डमा समेटिएको बताउनुभयो ।

मापदण्डमा दूध उत्पादनका लागि पालिएका पशु बाहेक भार बहन प्रयोजनका लागि प्रयोग गरिने बहर, गोरु, राँगा भार तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यवहार एवम् अपनाइने विधिबारे मापदण्डमा उल्लेख गरिएको डा. कुँवरले जानकारी दिनुभयो । त्यसैगरी छाडा तथा निवृत्त पशुको व्यवस्थान सम्बन्धमा पनि मापदण्डमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशुहरुमा पनि गाईको समस्या धेरै देखिएको बताउनुभयो । उहाँले मानिसले दुध दिँदासम्म गाईलाई पाल्ने, गाईको खानपान तथा आहारामा ध्यान नदिने तथा बुढो भएपछि सडकमा छाडा छाडिदिएर अत्यन्तै अमानविय व्यवहार गर्ने गरेको बताउनुभयो ।

त्यसैगरी स्थानीय तहले पनि छाडा पशु व्यवस्थापनको नाममा पशुलाई थुनेर राख्ने, राम्रोसँग खाना नदिने, जङ्गलमा लगेर छाडिदिने लगायतका क्रुरतापूर्ण कार्यहरु गरेको पाइएको बताउनुभयो । पशुहरुको स्वतन्त्रता तथा पशु कल्याण सुनिश्चितताका लागि बढी गरेर स्थानीय तहले काम गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । उहाँले पशु कल्याण सम्बन्धि कार्य गर्ने उद्देश्यले २०७२ सालदेखि स्नेहाज केयरले पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको जानकारी गराउनुभयो ।

आवाजविहिन पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनस्र्थापनाका लागि विभिन्न गतिविधिहरुका साथै सामुदायिक कुकुरहरुको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन, रेविज रोग उन्मुलनका लागि बृहत्तर रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन, बेवारिसे गाई बाच्छाहरुको उद्धार, उपचार तथा पुनस्र्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा अव्यवस्थित ढुवानीका कारण पशुप्रति भईरहेको क्रुरता कम गर्नका लागि विभिन्न कार्यक्रम, पशु कल्याण तथा मानवता सम्बन्धि सचेतना तथा ज्ञानमूलक शैक्षिक कार्यक्रमलगायत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सरकारका पूर्व सचिव एवम् नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रालिका प्रबन्ध निर्देशक डा.विमलकुमार निर्मलले प्रदेश सरकारले पशु कल्याणसम्बन्धि कानून ल्याउनु अघि यसै मापदण्ड अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो । पशु कल्याणसम्बन्धि ऐन बन्नु पहिला प्रदेश सरकारद्धारा बनाइएका मापदण्ड लागू गरेर पशु कल्याण्का समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

ऐन बनेपछि कारबाही समेत गर्न सकिने व्यवस्था हुने तर मापदण्डमा कारबाहीको व्यवस्था नहुने भन्दै उहाँले सबैले पशु अधिकारको सुरक्षा गर्दै व्यवहारिक रुपले मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढीजसो पशुमाथि क्रुरता भएको पाइएको भन्दै पशु कल्याणमैत्री हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपालको संघीय सरकारले पशु कल्याण विधेयक तयार गरी सदनमा पेश गर्ने तयार गरी रहेको अवस्थामा सो ऐन स्वीकृति र कार्यान्वयनको वातावरण तयार गर्न सबै कृषकहरु एवम् यस पेशामा संलग्न संघ-संस्थाहरुले पशु कल्याणको व्यवस्थापनमा स्वस्फूर्त सुधार गरुन भन्ने मापण्डको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चारगृहमा कार्यरत नेपालगन्जका कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।