जानु पाण्डे
कपिलवस्तु चैत्र २७ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामाजिक विकासका सूचक पुरा गर्न ‘सचेत परिवार परिचयपत्र’ लागु गरेको छ । पालिकामा हरेक घरमा शौचालय निर्माणसँगै अनिवानी परिवर्तन र सरसफाइ सँगै शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन परिचयपत्र लागु गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
परिचय पत्रमा शिक्षा स्वास्थ्य र सरसफाइका सूचकलाई आधार मानिएको छ । शिक्षा अन्तर्गत आधारभूत तह अध्ययन अनिवार्य गरिएको छ । स्वास्थ्यमा गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा प्रसूति, सबै खोप पुरा हुन पर्ने सूचक समावेश गरिएको छ । पालिकालाई पूर्ण सरसफाइ बनाउन शौचालय निर्माण र नियमित प्रयोग र घर वरपरको सरसफाइलाई आधार मानिएको छ । सचेत परिवारमा बाल श्रम निषेध गरिएको छ । एक दिन जनश्रमदान अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
सामाजिक विकासको सूचकाङ्कमा पछाडि परेको गाउँपालिकाको जीवन स्तर उकास्न समुदायलाई परिचालन गरिएको पालिकाका बास संयोजक अर्जुन बेल्बासेले बताउनुभयो । अनुगमन गरी सबै सूचक पुरा गरेको पाइएमा मात्र परिचयपत्र प्रदान गरिने छ । सूचक पुरा नहुने घरधुरीको पालिकाले दिने सुविधा वञ्चित गरिने बताइएको छ ।
तीन वर्षभित्र पालिकाको सामाजिक विकासको सूचकमा सुधार ल्याउन गरी काम हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । यसै वर्ष हरेक घरमा शौचालय र एक घर एक फिल्टर सहयोग गरी स्वच्छ खानेपानीको पहुँच पुराइने लक्ष्य राखिएको छ । पालिकाका ८ स्थानमा ओभर हेड ट्याङ्कीमार्फत खानेपानी वितरणको योजना निर्माणको क्रममा छ ।