• २० वैशाख २०८१, बिहिबार

बजार चलायमान बनाउन रात्रि मेला

blog

कन्हैयालाल केशरी
पर्सा, चैत २७ गते । वीरगन्ज बजारलाई चलायमान बनाउन रात्रि मेला आयोजना गरिने भएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरलगायतका विभिन्न सङ्घ संस्थाहरूको सहयोग र सहकार्यमा बिहीबारदेखि आर्दशनगरमा रात्रि बजारलाई मेलाको रूपमा आयोजना गर्न लागिएको हो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आर्थिक मन्दीका कारणस्थिर रहेको वीरगन्ज बजारलाई चलायमान बनाउन वीरगन्जको पुरानो बस पार्कमा बिहीबारदेखि शनिबारसम्म रात्रि मेलाको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

गत वर्षदेखि आयोजना हुने गरेको रात्रि बजारमा पछिल्लो पटक पाँच दिनमा लगभग पाँच करोडभन्दा बढीको कारोबार भएको भएको नगर प्रमुख सिंहको भनाइ छ ।

रात्रि बजार प्रति नगरवासीले देखाएको उत्साहका साथै छिमेकी देश भारतको रक्सौलबाट पनि ठुलो सङ्ख्यामा भारतीय आउने गरेकाले स्थानीय प्रशासन र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको पहल सीमा नाका राति १२ बजेसम्म खोलिने सहमति भएकाले छठौँ पटक रात्रि बजारको अवधारणालाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष जयप्रकाश खेतानले मेला परिसरमा रहेको एक सयभन्दा बढी स्टल भाडामा लागि सकेको र व्यवसायीहरूबाट थप स्टलको माग भइरहेको छ । उहाँले मेला स्थलमा मनोरञ्जनका लागि नेपाली भेषभुषा झल्किने सांस्कृतिक कार्यक्रम, खानपिन गर्ने स्टल होटेल र विशेष गरी हस्तकलाबाट उत्पादित सामान लगायतका विभिन्न प्रकारका व्यावसायिक स्टल राखिने छ । यसको सम्पूर्ण तयारी लगभग पूरा भई सकेको जानकारी उहाँले दिनुभयो ।