• १२ साउन २०८१, शनिबार

कैलालीमा पाँचदलीय गठबन्धनबाट बाहिरियो जसपा

blog

अविनाश चौधरी

धनगढी, वैशाख ३ गते । कैलालीमा जनता समाजवादी पार्टी (जसपा) पाँच दलीय गठबन्धबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएदेखि गठबन्धनप्रति रुष्ट सो पार्टीले यो जिल्लामा गबन्धनबाट अलग हुँदै अन्य दलसँग चुनावी गठबन्धन गरेको हो । 

आफ्नो एक जना प्रदेश सभा सदस्य हुँदाहुँदै बाइपास गरेर प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन गरिएको भन्दै सो दलले असन्तुष्टि जनाएको थियो । मन्त्रीमण्डल पुनर्गठन भएलगत्तै असहमति जनाएको जसपाले स्थानीय तहमा मत मिल्ने अरु पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताएको थियो । 

सोहीअनुसार सो पार्टी चार दलीय चुनावी गठबन्धनमा मिलेको छ । जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले स्थानीय तहको चुनावमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । 

वैशाख १ गते बसेको चारै पार्टीको संयुक्त बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी अगाडि बढ्ने सैद्धान्तिक र वैचारिक निर्णय गरेको थियो । गठबन्धन दलहरुले शनिबार पत्रकार सम्मेलन गरेर गठबन्धनले आह्वान गरेअनुरुप निर्वाचन प्रक्रियामा होमिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

गठबन्धनको नीति, निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताले पालना गर्ने गराउने चारवटै दलबीच सहमति भएको नेपाल लोकतान्त्रिक पार्टीका कैलाली अध्यक्ष माधव चौधरीले जानकारी दिनुभयो । पहिचान र अधिकारका खातिर सङ्घर्षरत दलहरु तालमेल गरेर चुनावमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।