• २० वैशाख २०८१, बिहिबार

बर्दीबासमा बिजनेस कम्प्लेक्स र फन पार्कको डिपिआर तयार

blog

बर्दीबास विजनेस कम्प्लेक्स र रामजानकी फन पार्कको एनिमेसन । तस्बिर सौजन्य : ई आश्रम श्रेष्ठ- ग्रिन टेक कन्सलटेन्ट प्रालि

रवीन्द्र उप्रेती
बर्दीबास, चैत २७ गते ।
बर्दीबास नगरपालिकाले नगर क्षेत्रको समग्र विकासका लागि तयार पारेको दुई ठूला परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नगरपालिकाले वडा नं ३ गौरीडाँडामा बर्दीबास व्यापारिक भवन (विजनेस कम्प्लेक्स) र वडा नं १४ स्थित रातुको तटवर्ती क्षेत्रमा रामजानकी फन पार्क निर्माणको तयारी गरेको हो ।

दुवै परियोजनाको प्रारम्भिक लागत  ८१ करोड रुपियाँ अनुमान गरिएको छ ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दीबासको पहिचान अभिवृद्धि, आन्तरिक पर्यटन प्रवर्द्धन र व्यापार व्यवसायको संस्थागत विकासमा टेवा पुर्‍याउने उद्देश्यले बिजनेस कम्प्लेक्स र फन पार्कको एकसाथ परिकल्पना गरिएको बताउनुभयो ।

बर्दीबासमा लामो समयदेखि चासो र चर्चाको विषय बनेका दुवै महत्वाकाङ्क्षी संरचनाहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार भइसकेकाले यो कार्यान्वयनको चरणमा प्रवेश गरेको नगरपालिकाले जनाएको छ ।

ग्रिन टेक कन्सलटेन्ट प्रालिले तीन महिना लगाएर तयार पारेको डिजाइन अनुसार बर्दीबास बिजनेस कम्प्लेक्सको कुल क्षेत्रफल साढे पाँच कठ्ठा निर्धारण गरिएको छ । यसमध्ये दुई कठ्ठा ११ धुर (८७१.३४ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुने ६ तले आकर्षक भवनमा व्यापारिक प्रयोजनका लागि १०२ वटा पसल सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ । व्यापारिक भवनमा सिसाका दुई वटा लिपःट र बेसमेन्टमा भूमिगत पार्किङ रहनेछ । पार्किङमा कार र मोटरसाइकल गरी १५० भन्दाबढी सवारी राख्न सकिनेछ ।

बीपी राजमार्गको प्रवेश बिन्दुमा निर्माण हुन लागेको कम्प्लेक्सले बर्दीबासलाई व्यापारिक हब बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

कन्सलटेन्टका इन्जिनियर आश्रम श्रेष्ठले ३९ करोड लागत अनुमान गरिएको बिजनेस कम्प्लेक्समा प्रकाश संयोजन, सुरक्षा, शौचालयलगायतका मानवीय सुविधालाई पनि ध्यानमा राखिएको बताउनुभयो ।

त्यस्तै रातु किनाराको ४० विग्हा क्षेत्रफलमा निर्माण हुने रामजानकी फन पार्कलाई मधेश प्रदेशकै गौरवको आयोजना मानिएको छ ।

पार्कमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई प्रतीकात्मक रुपमा डिजाइन गरिएको छ । यसैको महत्त्व दर्शाउन पार्कको नाम नै ‘रामजानकी’ राखिएको हो ।

यसको अलावा जलक्रीडाका लागि वाटर फन पार्क, वन वाटिका (बाेटानिकल पार्क), बाल मनोरञ्जन, सांस्कृतिक संग्राहलय, रेस्टुरेन्टलगाएत मनोरञ्जनका विविध व्यवस्था मिलाइएको छ ।

४२ करोड रुपियाँ लागत अनुमान गरिएको रामजानकी फन पार्कलाई एकैपटक ५० हजार जनाले अवलोकन गर्न सकिने कन्सलटेन्टका इन्जिनियर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दुवै संरचना ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी डिजाइन गरिएको हो ।

ग्रिन टेक कन्सलटेन्टले नगरपालिकाको प्रशासनिक भवनमा आयोजना गरेको औपचारिक कार्यक्रममा दुवै संरचनाको एनिमेसन भिडियो सार्वजनिक गर्नुका साथै परियोजनावारे विस्तृत जानकारी गराएको थियो ।

त्यस क्रममा कन्सल्टेन्ट इन्जिनियर श्रेष्ठले फन पार्कमा विविध मनोरञ्जन र आधुनिक सुविधा र सुन्दरताको परिकल्पनासाथ डिजाइन गरिएको बताउनुभयो ।

कार्यक्रमलगत्तै बसेको नगर कार्यसमितिको बैठकले पनि दुवै परियोजनालाई सर्वसम्मत अनुमोदन गरेकोले कार्यान्वयको चरणमा प्रवेश गरेको जनाइएको छ ।

मधेश प्रदेशमै मनोरञ्जनका लागि व्यवस्थित गन्तव्य नभएकाले फनपार्कले बर्दीबासको पहिचानलाई उचाई दिनुका साथै बाह्य तथा आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारले विजनेस कम्पलेक्सका लागि बहुवर्षिय योजनाअन्तर्गत चालु आवमा एक करोड ४० लाख निकासा पठाएको र नगर कार्यापालिकाले पनि अनुमोदन गरेकोले विधिसम्मत प्रक्रियामा अघि बढाइने नगरप्रमुख क्षेत्रीले बताउनुभयो ।

त्यस्तै रामजानकी फन पार्कका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरी ४० बिघा जग्गा अधिग्रहण गरिसकेको छ । डिपिआर पनि तयार भइसकेकाले बजेट व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइने तयारी गरिएको जनाउनुभयो ।

‘फन पार्कका लागि मुख्यमन्त्री सरोज यादवले चासो लिनुका साथै सार्वजिनक कार्यक्रममै सहयोगको प्रतिबद्धता गर्नुभएको छ । सबैको साथ सहयोग र शुभेच्छाले हामी निर्धारित समयमै दुवै संरचना सम्पन्न गर्ने अभियानमा जुटेका छौ’ नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।