• १० साउन २०८१, बिहिबार

हरित रोजगारीको सम्भावना

blog

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ७१ हजार २१० पुगेको छ । नेपालबाट हरेक दिन औसत दुई हजार नेपाली काम खोज्दै बिदेसिने गरेका छन् । फागुनमा काम खोज्दै बिदेसिनेमध्ये छ हजार ७६८ त महिला नै छन् । नेपालमा निराशा छाउनुको पहिलो कारण रित्तिँदै गएको ग्रामीण र सहरी बस्ती हो । हरेक ग्रामीण र सहरी इलाकाका परिवारको नयाँ पुस्ता केवल विदेशको सपनामा समय बिताइरहेको हुन्छ । अनि जब उत्पादनशील र क्रियाशील उमेर आउँछ, यो पुस्ता विदेश गइसकेको हुन्छ ।

यो परिस्थितिले जनसङ्ख्याको घट्दो अवस्थालाई त देखाउँछ नै, सँगसँगै देश विकासका सम्भावनालाई पनि क्षीण बनाउँदै लागेको छ । यसमा शैक्षिक गुणस्तर त एउटा कारण होला अन्य विषयले पनि यो अवस्था आएको छ । विदेश जानुको पहिलो कारण रोजगारी नै हो । दोस्रो हो– शिक्षा । तथ्याङ्कले यही देखाउँछ । तथापि सहज जीवन चाहिँ मुख्य कारण हो । आफ्नो जीवन सहज बनाउन हरेक युवाले विदेशको सपना देखिरहेको हुन्छ । जे जस्तो भए पनि रोजगारी नै स्वदेश रित्तिनुको मूल कारण हो भनेर ठम्याउन सकिन्छ । स्वदेशमा उपलब्ध सुख, सुविधा अनि प्रणालीले नयाँ पुस्ताको आशा र लक्ष्यलाई थेग्न सकिरहेको छैन । त्यसैले उनीहरू विदेश गइरहेका छन् । यसलाई रोक्ने विविध उपायमध्ये हरित रोजगारी पनि एक हो । यसले देशभित्र आशाको सञ्चार गर्न सक्छ । 

वातावरणलाई फाइदा हुने वा प्राकृतिक स्रोतको संरक्षण गर्ने वस्तु वा सेवाहरू उत्पादन गर्ने व्यवसाय वा काम नै हरित रोजगारी हो । अर्थात् उत्पादन प्रक्रियालाई वातावरणमैत्री बनाउने वा कम प्राकृतिक स्रोत प्रयोग गर्ने काम नै हरित रोजगारी हुन् । हरित रोजगारी नेपाली वातावरणको आवश्यकता अनुरूपको नयाँ अवधारणा हो । प्राकृतिक स्रोत उपलब्ध भएका तर त्यसको समुचित उपयोग हुन नसकेको नेपाल जस्तो देशलाई रोजगारी प्रवर्धन मात्रै होइन, विकासको अवसर पनि हरित रोजगारीको अवधारणाले पूरा गर्दछ । दिगो विकासको आधार तय गर्न पनि प्राकृतिक स्रोतलाई पहिचान गरी तिनीहरूको उपयोगिताको खाका कोर्नु पर्दछ । 

हरित रोजगारीले उद्यम र आर्थिक क्षेत्रको वातावरणीय प्रभावलाई घटाउँछ । रोजगारीका कारण निर्माण गरिएका पूर्वाधार दिगो हुन्छन् । पारिस्थितिक प्रणाली र जैविक विविधतालाई ध्यान दिई उच्च दक्ष रणनीतिमार्फत ऊर्जा, सामग्री र पानी खपत कम गर्ने गरी डिकार्बोनाइज अर्थव्यवस्था र पूर्ण रूपमा उत्पादन गर्नबाट बच्दै फोहोर र प्रदूषणलाई घटाउँछ । त्यसैल वन क्षेत्रको उच्च उपलब्धता भएको नेपाल जस्तो क्षेत्रमा हरित रोजगारी बढाउनका लागि स्रोत परिचालन खाका बनाउनु पर्छ । नेपालमा हरित रोजगारीलाई प्रवर्धन गर्नका लागि निम्न उपाय अपनाउन सकिन्छ : 

सबभन्दा पहिले त देशभित्रका हरित रोजगारीलाई राज्यले हेर्ने दृष्टि सकारात्मक हुनु पर्दछ । रोजगारीको क्षेत्रलाई यकिन गर्नु पर्छ । यसले रोजगारीको अवसर मात्र नदिएर विश्व संरक्षणको क्रियाकलाप पनि गरिरहेको हुन्छ । देशभित्र रहेका हरेक प्राकृतिक स्रोतहरू जस्तै : खोला, नदी, वन, सौर्य ऊर्जा, जलवायु अनुकूलनका विविध आयाम, विपत् व्यवस्थापनका विविध प्रक्रिया; जसले प्रकृतिलाई संरक्षण गर्दछन् । यी सबै प्रक्रिया गर्दै गर्दा सिर्जना हुने रोजगारीका अवसरलाई यसै क्षेत्रमा राख्नु पर्दछ । यसरी सिर्जना भएका रोजगारीका अवसरलाई अभिलेखन गरी स्वदेशी तथा विदेशी सहयोगी विकास साझेदारहरूको सल्लाहमा थप अवसर सिर्जना गर्न सक्नु पर्दछ । 

यसरी सिर्जना भएका विविध रोजगारीका अवसरहरूलाई उपयोग गर्नका लागि केही उच्च प्रविधियुक्त सिप सिकाउनु पर्दछ । जस्तै : सौर्य ऊर्जालाई उपयोग गरेर रोजगारी दिनका लागि सौर्य ऊर्जासम्बन्धी प्राविधिक ज्ञान र सिपको खाँचो पर्दछ । त्यो प्राविधिक ज्ञान र सिपको प्रवर्धनले नै उच्च सिपयुक्त जनशक्ति तयार हुन्छ । हरित रोजगारीको सिर्जना गर्ने दोस्रो तह भनेको वातावरण संरक्षणसम्बन्धी प्राविधिक जनशक्ति सिर्जना गर्नु हो । 

हरित रोजगारीको तेस्रो तह भनेको स्वरोजगारी वा आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर सिप सिकाउनु हो । सिपयुक्त जनशक्तिको मूल्य संसारभर नै सिप नजानेको व्यक्तिभन्दा धेरै गुणा बढी हुन्छ । सिपयुक्त जनशक्तिले जागिर वा रोजगारीका लागि अन्य स्थानमा जानु पर्दैन । आफ्नो क्षेत्रमा आफैँ नै व्यवसाय गर्न सक्षम हुन्छ । एकीकृत ढाँचामा हरित रोजगारी प्रवर्धन गर्न सकेको खण्डमा जलाधार तहमा विकास र पूर्वाधारलाई मूलप्रवाहीकरण गर्दै संस्थागत रोजगारी तथा स्वरोजगारी गर्न सकिन्छ । त्यसले अझै उच्च लाभ दिन सक्छ । 

हरित रोजगारीको पहिलो सम्भावित क्षेत्र नवीकरणीय ऊर्जाको क्षेत्र हो । ऊर्जाद्वारा उत्सर्जित कार्बन नै जलवायु परिवर्तनको मुख्य कारक हो । नेपाल त्यो क्षेत्र हो; जहाँ नवीकरणीय ऊर्जाको अपार भण्डार छ । जलविद्युत् आफैँमा पनि नवीकरणीय ऊर्जाको स्रोत हो । विश्व रोजगार बजारको एउटा प्रक्षेपण अनुसार नवीकरणीय ऊर्जाको क्षेत्रमा ४३ करोड व्यक्तिलाई रोजगारी दिने सम्भावना छ । त्यस्तै इसिमोडले गरेको एक अध्ययन अनुसार नेपालमा ३२ हजारभन्दा बढी व्यक्तिलाई रोजगारीको अवसर सौर्य ऊर्जालाई घर प्रणालीमा जडेको खण्डमा मात्र पनि हुन्छ । हरित रोजगारीकै बारेमा गरेको सोही अध्ययन अनुसार नेपालमा लघु जलविद्युत्बाट १० हजारभन्दा बढी व्यक्तिलाई रोजगारीका अवसर सिर्जना हुन सक्छ । बायोग्यास ऊर्जाबाट १० हजार व्यक्तिलाई रोजगारी प्राप्त हुन्छ भने उद्यमशीलता, जलवायु अनुकूलन तथा असर मूल्याङ्कनलाई हेरेर गरिएको उक्त अध्ययनले १७ लाखभन्दा धेरै व्यक्तिलाई हरित रोजगारीको अवसर सिर्जना हुन सक्छ । 

यसरी हेर्दा उच्च रूपमा रोजगारी सिर्जना हुने देखिए पनि बदलिँदो वातावरणीय परिवेशमा प्राकृतिक स्रोतले परिपूर्ण हाम्रो मुलुकले दैनिक दुई हजार व्यक्तिलाई रोजगारीका लागि विदेश पठाउनुको सट्टा नेपालमै हरित रोजगारी सिर्जना गर्नु पर्छ । यसले वातावरणमैत्री रोजगारी मात्र सिर्जना गर्दैन, स्वदेशमै उद्यमशीलताको विकास गर्छ । यसबारे अध्ययन गर्दा हरित रोजगारीको अवसर नेपालमा धेरै देखिन्छ तर यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु जरुरी छ । 

नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी दशकलाई आन्तरिक रोजगार दशक मनाउने तयारी गरिरहँदा हरित रोजगारी प्रवर्धनलाई पनि प्राथमिकतामा राख्दै विशेष पहल गर्नु पर्छ । रोजगारी सिर्जनामा सामुदायिक वनको खाली जग्गा उपयोग गर्न सकिन्छ । वनका लागि मात्र होइन, गाई फार्म, फूल खेती, माछापालन आदि क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । प्रत्येक वर्ष करोडौँ रुपियाँको फूल विदेशबाट आयात हुन्छ । स्वदेशको यही माग मात्र धान्न सक्ने गरी हामीले फूल उत्पादन गर्ने हो भने रोजगारी सिर्जना मात्र हुने होइन, अर्थतन्त्रलाई पनि भरथेग हुन्छ । त्यसैले वातावरण सन्तुलन कायम राख्न, नेपाली युवालाई स्वदेशमै टिकाउन र रोजगारी सिर्जना गर्न हरित रोजगारीमा अब जोड दिनै पर्छ ।   

Author

नवराज पोखरेल