• २७ वैशाख २०८१, बिहिबार

कम्पोष्ट मल उत्पादन

blog

तुलसी कम्पोष्ट मल किसानलाई हस्तान्तरण गर्दै नगरप्रमुख टीकाराम खड्का ।

गोकर्ण पौडेल 

तुलसीपुर, चैत २६ गते । तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलको रूपमा तयार पारेर बिक्रीका लागि बोरामा प्याकिङ समेत गरेको छ । 

भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोष्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको ६ टन गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलकारूपमा  उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्‍याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो । 

मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लु वेस्ट भ्युका कार्यकारी निर्देशक नवीनविकास महर्जन बस्नेतले ल्याब परीक्षण गरी उत्पादन भएको कम्पोष्ट मललाई बीजदेखि बारीसम्म प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार पालिकाले पाँच सय वटा क्यारेटमा गल्ने फोहोर राखेर दैनिक दुई हजार पाँच सय केजीसम्म मल उत्पादन गर्न सक्ने भौतिक संरचना तयार पारिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा मल उत्पादनका लागि भौतिक संरचना समेत तयार पारिएको छ ।

तुलसीपुर ८ अश्वारमा फलफूलका बिरुवा उत्पादन गर्दै आएका किसान बुद्धिराज पौडेलले पालिकाले उत्पादन गर्न थालेको कम्पोष्ट मलबाट रासायनिक मलको प्रयोगलाई कम गर्दै प्रयोगमा ल्याउन सकिने बताउनुभयो । उहाँले अब बजारमा रासायनिक मलको अभाव भएपनि विकल्पमा कम्पोष्ट मलको प्रयोगले माटोको उर्वराशक्ति बचाई राख्न सक्ने बताउनुभयो । 

नगरप्रमुख टीकाराम खड्काले खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगलाई कम गर्नमा उत्पादन गरिएको कम्पोष्ट मलबाट सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकाको विभिन्न पकेट क्षेत्रलाई अर्ग्यानिक क्षेत्रकारुपमा विकास गर्नमा जैविक मल उत्पादन भएसँगै सहयोग पुग्ने बताउनुभयो । उहाँले गल्ने र नगल्ने फोहोर नगरवासीले छुट्याएर सहयोग गरे कम्पोष्ट मल उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख खड्काले फोहोरबाट मोहोर कमाउनको कामको सुरुवात भएको बताउनुभयो । 

पालिकाले नगल्ने फोहोर सङ्कलन गरेर कुर्सी, टेबल, डेस्क, बेन्च, गमला समेत बनाउँदै आएको छ । पालिकाभित्र दैनिक १९ टन नगल्ने फोहोर सङ्कलन हुने गरेको छ ।