• १९ वैशाख २०८१, बुधबार

ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयको प्रदर्शन

blog

जनकपुर, चैत २६ गते । धनुषाको पाँच वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केबरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोतविरुद्धको सङ्घर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पनि वास्ता नगरेकाले सङ्घर्षमा उत्रिनुपरेको सङ्घर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिनुभयो ।

प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जामसमेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रीपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केबरमा कार्यालय सार्न लागिएको हो ।

सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ । यद्यपि सङ्घर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।