• २७ वैशाख २०८१, बिहिबार

किसानले पाए उत्पादनमा आधारित अनुदान

blog

दुध उत्पादनका लागि पाल्पाका किसानले पालेका भैँसी । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, चैत २६ गते ।
पाल्पाका २६ वटा सहकारी संस्थाहरूले उत्पादनमा आधारित अनुदान पाएका छन् । जिल्लाको कृषि, पशु तथा उत्पादनका क्षेत्रमा काम गरेका २६ वटा सहकारी संस्थाले उत्पादनका आधारमा अनुदान पाएका हुन् ।

उनीहरूले गत आव २०७९/०८० मा उत्पादन गरेको दुध र मासुको अनुदान पाएका हुन् । स्थानीय तहले दिएको अनुदानमा दोहोरो नपर्ने गरी जिल्लाभरका २६ वटा सहकारीलाई ९४ लाख ४० हजार ८४० रुपियाँ भुक्तानी गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

केन्द्रका अनुसार लुम्बिनी प्रदेश सरकारको चालु आवको योजना अनुसार दुध र बोका खसीको मासुमा अनुदान दिइएको हो । केन्द्रका अनुसार दुधमा प्रतिलिटर दुई रुपियाँका दरले १० वटा सहकारीलाई १६ लाख दुई हजार ९४३ रुपियाँ भुक्तानी गरिएको छ ।

यस्तै, बोका र खसीको मासुको प्रतिकिलो २५ रुपियाँका दरले ७८ लाख ३७ हजार ८९७ रुपियाँ भुक्तानी गरिएको केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘स्थानीय तहले भुक्तानी दिएको नदिएको प्रमाणपछि दोहोरो नपर्ने गरी मासु र दुधमा प्रतिफलमा आधारित अनुदान वितरण गरेका छौँ ।’’

केन्द्रका अनुसार १६ वटा सहकारीबाट खसीबोकाका तीन लाख ३५ हजार किलो मासुलाई अनुदान दिइएको छ । यस्तै १० वटा दुग्ध सहकारीमार्फत आठ लाख एक हजार लिटर दुध सङ्कलन भएको रेकर्ड प्राप्त भएको केन्द्रका पशु चिकित्सक नविन बस्यालले बताउनुभयो ।

पाल्पाको तिनाउ, रिव्दीकोट, माथागढी, पूर्वखोला, बगनासकाली गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिँदै आएका छन् । प्रदेश सरकारले दिनेभन्दा बढी अनुदान पालिकाले दिएको बस्यालले बताउनुभयो । स्थानीय तहहरूले मासुमा प्रतिकिलो ५० रुपियाँसम्म र दुधमा १० रुपियाँसम्म अनुदान दिँदै आएका छन् ।