• १२ साउन २०८१, शनिबार

वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग

blog

काठमाडौं, चैत २५ गते । काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन् । आगामी वैशाख पहिलो साता छिचोलिने बताइएको छ । 

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले सुरुङको ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी रहेको बताउनुभयो । वैशाखको पहिलो हप्ता सुरुङमार्ग छिचोलिने उहाँले सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी छ, सबै कुरा यथावत् रहे वैशाखको ३–४ गतेसम्म छिचोलिसक्ने  योजनामा छौँ ।” अहिले स्थानीयको अवरोध नरहेकाले काम निरन्तर भइरहेको उहाँको भनाइ छ । 

सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन दुई मिटर मात्र बाँकी छ, सबै कुरा यथावत् रहे वैशाखको ३–४ गतेसम्म छिचोलिसक्ने  योजनामा छौँ ।

सुरुङ ‘ब्रेक थ्रु’ भए पनि सुरुङमार्गबाट गाडी गुड्न भने एक वर्ष पर्खनु पर्नेछ । सडकको फिनिसिङ, लाइटिङ, आकस्मिकद्वार, एयर कन्डिसनरको व्यवस्था गर्न बाँकी रहेकाले सवारी गुडाउन एक वर्ष पर्खनुपर्ने उहाँले बताउनुभयो । 

आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारको तर्फबाट चार अर्ब ८० करोड रुपियाँ खर्च गरिने छ ।

अहिले आयोजनाबाट निर्माण कम्पनीलाई तोकिएको रकमको १० प्रतिशत मात्र भुक्तानी दिइएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । अहिले सुरुङमार्ग छिचोलिएपछिको तेस्रो र चौथो प्याकेजको कामका लागि जापान सरकारसँग रकम माग गर्नका लागि फाइल अर्थ मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुङमार्ग छिचोलिएपछि बाँकी रहेको तेस्रो र चौथो प्याकेजको काम गर्न रकम अपुग हुन्छ, त्यसैले जापान सरकारसँग माग गर्न फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ ।”

सुरुङमार्ग छिचोलिएपछि बाँकी रहेको तेस्रो र चौँथो प्याकेजको काम गर्न रकम अपुग हुन्छ, त्यसैले जापान सरकारसँग माग गर्न फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ ।

सुरुङमार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । जाइकासँग शून्य दशमलव १ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्नेगरी सो ऋण सम्झौता भएको हो । यो सुरुङमार्ग जापानको हाज्मा आन्द्रो कम्पनीले निर्माण गरिरहेको छ । 

फागुनको २३ गते सुरुङ छिचोल्ने योजना रहे पनि स्थानीयले फागुन ६ गतेदेखि अवरोध गरेपछि एक महिना काम रोकिएको थियो । स्थानीयले राखेका मागहरू सम्बोधन गर्ने सहमति भएपछि पुनः काम सुरु भएको छ । अहिले स्थानीयको कुनै अवरोध नरहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  

यस्तो हुन्छ सुरुङमार्ग

२.६८८ किलोमिटर लम्बाइ भएको सुरुङ मार्गमा ३.५ मिटर चौडाइका दुई वटा लेन रहने र दुवैतर्फ पानी बग्ने नालीहरू रहने जनाइएको छ । पुल, कल्भर्ट र अन्य संरचना १२ वटा हुनेछ । चौबीसै घण्टा भेन्टिलेसन रहने सुरुङ मार्गमा आपत्कालीन उद्धार प्रणाली पनि हुने बताइएको छ । 

अहिले स्थानीयको कुनै अवरोध नरहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।  

सुरुङको जुनसुकै स्थानमा कुनै घटना भएको खण्डमा बढीमा ७ मिनेटभित्र त्यहाँ पुग्नेगरी व्यवस्थापन गरिनेछ । एक घण्टा लाग्ने उक्त सडकको यात्रा सुरुङमार्ग निर्माणपछि १५ मिनेटमै छिचोल्न सकिने अपेक्षा गरिएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।