कन्हैयालाल केशरी
पर्सा, मङ्सिर २० गते। पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ। वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताउनुभयो।
आफू चिकित्सक पेशामा संलग्न रहँदा नेपाल बाट ठूलो संख्यामा आँखाका रोगी उपचारका लागि भारत जाने गरेका थिए। मुलुकले आँखाको उपचारमा फड्को मारेपछि बर्षैनी हजारौं आँखाका रोगी भारतबाट नेपाल भित्रिएका छन् यसलाई ठूलो परिवर्तन तथा उपलब्धिको रुपमा लिनुपर्छ।
प्रथम राष्ट्रपति डा रामवरण यादव शनिबार बीरगञ्जमा बीरगञ्ज दृष्टि आंखा,कान, घाटी अस्पतालको नवर्निमित भवनको उद्घाटन तथा ११ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित र्कायक्रममा मुलुकले कम समयमा आँखाको क्षेत्रमा ठूलो परिवर्तन तथा उपलब्धि हासिल गर्नमा निजी सामुदायिक र सरकारी आँखा अस्पतालको ठुलो भूमिका रहेको बताउनुभयो।
“पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रस्टाउँछ। यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन्।”
अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिनुभयो।
अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताउनुभयो।